धरानः धरान-१४ स्थित पिण्डेश्वर मन्दिरमा रात्रीकालीन दर्शन गर्न नआउन आग्रह गरिएको छ ।
पिण्डेश्वर महादेव मन्दिर गुठी व्यवस्थापन समितिका प्रस्तावित अध्यक्ष राजेन्द्रप्रसाद पोखरेलले विशेष असहज परिस्थितिका कारण श्री पिण्डेश्वर महादेव मन्दिरमा रात्रीकालीन दर्शन बन्द गरिएको जानकारी दिए ।
पिण्डेश्वर महादेव मन्दिरमा वि.सं. २०४१ सालदेखि श्रावण महिनाभरी लाग्दै आएको श्रावणी मेला (बोलबम) मा भक्तजनको ठूलो भीडभाड हरेक आइतबार रातिदेखि सोमबार दिनभरीसम्म हुने गरेको थियोे । रातभरजसो नै त्यहाँ बोलबम भक्तजनको कारण भीड लाग्ने गरेको थियो भने राति १ बजेदेखि मूल ढोका खोल्ने गरिन्थ्यो ।
‘तर केही दिनदेखि सुनसरी जिल्लाका केही पालिकाहरुमा सामाजिक द्वन्द्वहरु बढ्दै गई वातावरण अशान्त बन्न पुगेको तथा अन्य जिल्लाहरुमा समेत छिटपुट झडपहरू भइरहेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै मन्दिरमा आयोजना हुने श्रावणी मेला, जलार्पण तथा दर्शनका लागि भक्तजनहरुलाई रात्रीको समयमा मन्दिर खुल्ला नरहने कुरा जानकारी गराउन चाहन्छु ।’ उनले भने ।
बिहान ५ बजेपछि मात्र पूजा–आजा एवम् दर्शन गर्न आइदिनु समेत अनुरोध गर्ने निर्णय भएको उनले जानकारी दिए । ‘हामीले ५ बजेपछि मात्रै पूजाआजा गर्न आउन अनुरोध गरेका छौं । श्री पिण्डेश्वर महादेव मन्दिर, श्री पिण्डेश्वर बाबाधाम समिति तथा प्रस्तावित श्री पिण्डेश्वर महादेव मन्दिर गुठी व्यवस्थापन समितिको संयुक्त बैठकले सो निर्णय गरेको हो ।’ उनले भने ।
समितिले सुनसरीको घटनामा परी दिवंगत भएका नागरिकहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । समितिले घटनाका दोषीहरुलाई कडाभन्दा कडा कारबाहीको माग समेत गरेको छ । ‘सबै जाति, समुदाय, धर्म र संस्कृतिको साझा चौतारीका रुपमा हुर्किएको नेपाली संस्कार संसारकै एक अनुपम उदाहरण हो, यसलाई जोगाउन हामीले कायम राखेको आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप एवम् एकआपसको सम्मान हाम्रा ऐतिहासिक परम्परा हुन् । सबै संयमित बनौ, नेपाल र नेपालीको एकतालाई अझ बलियो बनाऔं ।’ उनले भने ।