Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठानका इन्जिनियरविरुद्ध लाग्यो अख्तियार, झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोग

हाम्रो कोशी आवाज
साउन १५ २०८३, शुक्रबार
धरानको बीपी प्रतिष्ठानका इन्जिनियरविरुद्ध लाग्यो अख्तियार, झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोग

धरानःअख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत कम्प्युटर इन्जिनियर राकेशकुमार दासविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी प्रतिष्ठानमा इन्जिनियर (कम्प्युटर) पदमा नियुक्ति लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
दासले भारतको बिहार स्कुल एक्ज्यामिनेसन बोर्ड, पटनाबाट इन्टरमिडिएट तह र श्री भेन्कटेश्वर युनिभर्सिटी, तिरुपतिको डिग्री अफ ब्याचलर अफ इन्जिनियरिङ (कम्प्युटर साइन्स)को झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरेको अभियोगपत्रमा उल्लेख छ।
इन्जिनियर दासले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी ओहोदा र लाभ लिएको पुष्टि भएपछि आयोगले उनीविरुद्ध आज आरोपपत्र दायर गरेको हो।
दासले प्रतिष्ठानमा इन्जिनियर (कम्प्युटर) पदमा नियुक्ति लिने क्रममा भारतको बिहार स्कुल परीक्षा बोर्ड, पटनाबाट इन्टरमिडिएट तह र श्री वेंकटेश्वर विश्वविद्यालय, तिरुपति, भारतबाट ब्याचलर अफ इन्जिनियरिङको झुटो तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अख्तियारको दाबी छ ।
उनले ती नक्कली प्रमाणपत्रका आधारमा इन्जिनियर पदमा नियुक्त भई सरकारी ओहोदा, तलब, भत्ता र अन्य सेवा-सुविधाहरू समेत प्राप्त गरेको आयोगको अनुसन्धानबाट खुलेको प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
आयोगले दासले गरेको यो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको ठहर गरेको छ। सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम उनलाई कैद र जरिवानाको सजाय हुनुपर्ने मागदाबी गरिएको न्यौपानेले बताए । आरोपमाथिको अन्तिम निर्णय भने विशेष अदालतको सुनुवाइपछि हुने छ।

प्रकाशित मिति: साउन १५ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend