धरानः धरानमा एक युवामाथि खुकुरी प्रहार भएको छ ।
२० वर्षीय आशिष भनिने निलकमल राईमाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट राई गम्भीर घाइते बनेका छन् । धरान–५ तल्लो देउरालीमा पुरानो रिसइवीका कारण घटना भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईले जानकारी दिए । उनको हाल बीपी प्रतिष्ठानको आइसियु कक्षमा उपचार भइरहेको उनले जानकारी दिए ।
‘सबै प्रक्रिया पुरयाएर उनको आइसियुमा राखेर उपचार भइरहेको छ’, उनले भने, ‘अनुसन्धानलाई तीब्रता दिइरहेका छौं, खुकुरी प्रहार गर्ने युवा फरार रहेकोले खोजी तीब्र पारिएको छ, आज नै उनलाई पक्राउ गरेर ल्याउने तयारी गरिरहेका छौं ।’