धरानः धरानमा युवामाथि धारिलो हतियार (खुकुरी) हानेर फरार रहेका युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
धरान-५ झरना चोक बस्ने २० वर्षीय निलकमल राईमाथि धारिलो हतियार (खुकुरी) प्रहार गरी भागेका युवाहरू पक्राउ परेका हुन् । धरान-५ बस्ने ३६ वर्षीय सुदीप राई, २६ वर्षीय सुजन परियार, धरान-५ कै २२ वर्षीय ससेस साहलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईले जानकारी दिए ।
उनीहरू धरान-५ कै एउटा टहरामा लुकिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । ‘बिहानतिर जंगलमा लुकिरहेको सुइँको पाएका थियौं तर दिउँसो भएपछि उनीहरू स्थानीय टोलकै एक टहरामा सामूहिक रुपमा बसिरहेको अवस्थामा पक्राउ गर्न सफल भयौं ।’ डिएसपी राईले भने ।
धरान-५ कै २३ वर्षीय जोनसेना (यकिन नाम नखुलेको), धरान-५ कै २० वर्षीय सुमन लिम्बू, १८ वर्षीय हनक राई, धरान-५ दशघरे बस्ने २४ वर्षीय किरण राईले निलकमलको ढाडमा खुकुरी प्रहार गरी फरार थिए । उनीहरूको पनि खोजी भइरहेको डिएसपी राईले जानकारी दिए ।
ढाडमा धारिलो हतियार खुकुरी प्रहारबाट राईको अवस्था गम्भीर छ । उनको हाल बीपी प्रतिष्ठानको आइसियु कक्षमा उपचार भइरहेको छ । पुरानो रिसइवीका कारण घटना भएको हुनसक्ने प्रहरीको अनुसन्धानले देखाएको छ ।
अहिले पनि इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी देउरालीबाट प्रहरी टोली परिचालन गरिएको छ । घटनामा संलग्न फरार व्यक्तिहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।