Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा घरको ताला फोडेर १० तोला सुन र नगद लुटपाट, बेच्न लागेका थिए समातिए

हाम्रो कोशी आवाज
साउन १७ २०८३, आइतबार
धरानमा घरको ताला फोडेर १० तोला सुन र नगद लुटपाट, बेच्न लागेका थिए समातिए

धरानः धरानमा घरको छतमा चढेर १० तोला सुन, नगद चोरेर भागेका तीनजना पक्राउ परेका छन् ।
सुनको हार, सिक्री, औंठीलगायत चाँदीका गरगहना चोरेर भागेका उनीहरूलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो । पक्राउ पर्नेमा धरान–३ का २३ वर्षीय सुमित बराइली, उनकी श्रीमती २१ वर्षीय सम्झना बराइली र धरान–९ का १६ वर्षीय मनिष विक रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईले जानकारी दिए ।
आइतबार बिहान धरान–११ स्वास्तिका चोकनजिकै रहेको सुनसरी टेक्निकल कलेज अगाडि राजु शाहको घरको छतमा चढी उनीहरूले ती सामान चोरेका थिए । पक्राउ परेका उनीहरूबाट नगद ४४ हजार ४ सय ६३, चाँदीका गहना पाउजु ३ जोर, झुम्का ५ जोर, खुट्टामा लगाउने बिछु ५ थान, वाला एक जोर, हातमा लगाउने पञ्जा १ जोर, बुनियाँ चाँदी ३ प्याकेट, सुनका गहना न्याक्लेस हार १ थान, सिक्री लकेटसहितका थान १, मंगलसुत्र १ थान, कानमा लगाउने झुम्का १ जोर, टप १ जोर, ठोसा १ थान, औंठी १ थान, सुनको सिक्का १ थानसहित बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीलाई १० तोल सुन र ४ लाख नगदसहित ३० लाख बराबरको चोरी भएको प्रारम्भिक जानकारी गएको थियो । ‘उनीहरूले बजारमा लगेर बेच्न लागेका रहेछन्, ६–७ तोला जति गहनाहरू बरामद भएको छ’, डिएसपी राईले भने, ‘बेच्न नपाई करिब ५ घण्टामै अपराधमा संलग्न समात्न सफल भयौं ।’
आइतबार बिहान करिब सवा तीन बजेदेखि ४ बजेको समयमा राजु शाहको घरको माथिल्लो तलमा उनका भाई पप्पुको कोठाबाट ती सामान चोरी भएको प्रहरीले जनाएको छ । कोठामा कोही नभएको मौका पारी चारजनाको समूहले ताला फोडेर चोरी गरेको प्रहरीले जनाएको छ । चोरीमा संलग्न एकजना अझै फरार छन् । उनको पनि खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । उनी भारततर्फ भागेको समातिएकाबाट जानकारी आएको डिएसपी राईले बताए ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक बिनालाल साहको कमाण्डमा अनुसन्धानलाई तीब्रता दिएको थियो । प्रहरीले सिसिटिभी फुटेजको सहायताले समात्न सफल भएको हो ।

प्रकाशित मिति: साउन १७ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend