Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

हर्क साम्पाङको एकल निर्णय, जङ्गे बन्न खोज्दैछन्ः केन्द्रीय सदस्य राई

हाम्रो कोशी आवाज
साउन २० २०८३, बुधबार
हर्क साम्पाङको एकल निर्णय, जङ्गे बन्न खोज्दैछन्ः केन्द्रीय सदस्य राई

धरानः श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङले एकल निर्णय र फेसबुककै भरमा पार्टी चलाउन खोजेको भन्दै चर्को आलोचना शुरु भएको छ ।
अध्यक्ष साम्पाङले फेसबुकबाटै पार्टीका निर्णयहरू सार्वजनिक गर्ने बानी परिसकेको भन्दै पार्टीका केन्द्रीय सदस्य ज्ञानु चाम्लिङ राईले पार्टीको विधि, विधान र प्रक्रियाअनुसार अघि बढ्न सुझाएका छन् । ‘राष्ट्रिय पार्टी भइसकेपछि एकल निर्णय लिँदा प्रधानमन्त्री बन्न निकै गाह्रो हुन्छ, त्यही भएर मैले खबरदारी गरेको हुँ’, उनले भनेका छन्, ‘त्यही भएर सबैको भावनालाई समेट्दै जानुहोला ।’
साम्पाङ अध्यक्ष रहेको श्रम संस्कृति पार्टी अहिले आन्तरिक किचलोले धेरै विषयहरू छताछुल्ल हुँदै आएका छन् । केन्द्रीय सदस्य राईले पार्टीको नेतृत्व नसुध्रिए धेरै कुराहरू बाहिर ल्याउने पनि चेतावनी दिएका छन् । उनले यसअघि विज्ञप्ति नै जारी गरेर अध्यक्ष साम्पाङले कार्यशैली नसच्याए पार्टीभित्रका गतिविधिको भण्डाफोर गर्ने चेतावनी पनि दिइएको छन् । उनीहरूले भनेका छन्, ‘पार्टीभित्र रहेका विसंगति, स्वेच्छाचारिता तथा विधानविपरीत गतिविधिहरूको भण्डाफोर गर्दै पार्टी शुद्धीकरण अभियान सच्चालन गरिने जानकारी समेत गराइन्छ ।’
केन्द्रीय सदस्य राईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘श्रद्धेय अध्यक्ष ज्यू, जय माटो, जय देश । तपाईं चाहिँ विधि, विधान र अनुशासनमा बस्नुपर्छ कि पर्दैन ? तपाईंको धाक र धम्कीले देश बन्छ ? तपाईं प्रधानमन्त्री बन्न सक्नुहुन्छ ? तपाईंलाई सबै श्रमदाताको साझा नेता बन्न मन लाग्दैन ? कुनै विषयमा निर्णय गर्नुभन्दा अघि श्रमदाताहरूसँग सरसल्लाह किन गर्नुहुन्नँ ? श्रमदाताहरू तपाईंका कमारा हुन् ? तपाईं जंगे बन्न किन खोज्नुहुन्छ ? काम लाग्यो भाँडो, नलागे ठाँडो भन्ने शैली उपयुक्त होइन ।’
साम्पाङले फेसबुकबाट पार्टीको विशेष सुरक्षा संगठन (क्यूआरटी) विघटन गरिएको घोषणा गरेपछि झण्डै तीन दर्जन सदस्यले आपत्ति जनाएका थिए । लोकतन्त्रको लामो प्रवचन दिँदै हिँड्ने साम्पाङले अहिले आएर विधानविपरित विनाछलफल अलोकतान्त्रिक ढंगबाट संगठन विघटन गरेको सदस्यहरूको आरोप छ । ‘हामीसँग कुनै सरसल्लाह वा छलफल नगरी हामी आवद्ध रहेको टिम विघटन गरी विधानले व्यवस्था नगरेको सुरक्षा विभाग गठन गर्ने घोषणा गर्नु विधानविपरीत तथा अलोकतान्त्रिक कदम हो’, सदस्यहरूले संयुक्त विज्ञप्ति जारी गरेर भनेका छन्, ‘यदि उक्त गैरकानुनी तथा विधानविपरीत कार्य नरोकिएमा हामी क्युआरटीलाई पुनः गठन गर्नेछौ र पार्टीलाई विधान, विधि र लोकतान्त्रिक मूल्यमान्यताअनुसार सञ्चालन गराउने अभियानमा सक्रिय हुनेछौं ।’
यसरी विज्ञप्तिमार्फत् चेतावनी दिएका सदस्यहरूलाई साम्पाङले भने फेसबुकबाटै पार्टीबाट निकाल्ने चेतावनी दिएका छन् । सदस्यता खारेज गरिदिने धम्की दिँदै लेखेका छन्, ‘निर्देशन नमान्नेहरुलाई पार्टीबाट निलम्बन गरिनेछ, निलम्बित सदस्यले अटेर गरिराखेको प्रमाणित भए सधैँको लागि निष्काषन गरिनेछ ।’

प्रकाशित मिति: साउन २० २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend