धरानः चारकोसे जङ्गलको सेउती पुल नजिकै अब सांस्कृतिक तथा धार्मिक सुरक्षा कवच खडा गरिएको छ।
धरान–इटहरी सडक खण्डको यो अति जोखिमपूर्ण क्षेत्रमा यात्रा गर्ने चालक तथा यात्रीहरूको रक्षा, मङ्गल र सडक दुर्घटना न्यूनीकरणका लागि मङ्गलबार लिम्बू जातिको पवित्र विम्ब ‘सिलाम साक्मा’ स्थापना गरिएको छ।
लिम्बू पत्रकार संघ, जिल्ला कार्यसमिति सुनसरीको आयोजना र विभिन्न दाताहरूको आर्थिक तथा भौतिक सहयोगमा उक्त धार्मिक तथा सांस्कृतिक धरोहरको निर्माण र स्थापना सम्पन्न भएको हो।
मुन्धुमी विधिद्वारा ‘सोघा’ खेदियो
सिलामसाक्मा स्थापना गर्ने क्रममा लिम्बू समुदायको सांस्कृतिक दर्शन मुन्धुमअनुसार येवा (धामी/झाँक्री) हरूद्वारा विधिपूर्वक पूजाआजा गरिएको थियो। पूजाका क्रममा सडकमा अकाल मृत्यु गराउने र दुरात्मा मानिने ‘सोघा’ (नकारात्मक शक्ति) लाई विधिपूर्वक खेदिएको आयोजकले जनाएको छ।
यसअघि गत असार ३२ गते बसेको लिम्बू पत्रकार संघ, सुनसरीको बैठकले संघका सङ्घीय तुम्याहाङ तथा किरात याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य मोहनकुमार लिम्बूको संयोजकत्वमा ५ सदस्यीय निर्माण समिति गठन गरेको थियो। समितिमा वरिष्ठ पत्रकार हर्ष सुब्बा, प्रेम प्रकाश लिम्बू, प्रेम हुक्पा चोङ्बाङ र सङ्गीता सुब्बा सदस्य रहेका थिए।
स्थानीय सामाजिक, सांस्कृतिक तथा बौद्धिक व्यक्तित्वहरूको बाक्लो उपस्थितिमाझ भव्य रूपमा सिलामसाक्माको अनावरण गरिएको थियो।
लिम्बू भाषामा ‘सिलाम’ को अर्थ मृत्युको बाटो वा कष्टको बाटो र ‘साक्मा’ को अर्थ रोक्नु वा छेक्नु भन्ने हुन्छ। अर्थात्, जीवनमा आइपर्ने अकाल मृत्यु, विपत्ति, रोगव्याधि र नकारात्मक शक्तिलाई छेक्ने बलियो बार (ढाल) नै सिलामसाक्मा हो।
सुरक्षा र मङ्गलको प्रतीक: मुन्धुमअनुसार यात्रा वा दैनिक जीवनमा आइपर्ने बाधा-अड्चन र दुर्घटनाबाट बचाउने यो एक अचुक सुरक्षा कवच हो।
सांस्कृतिक पहिचान: नौ वटा कुना र धागोको विशेष बुनाइबाट बन्ने यस विम्बले सम्पूर्ण सृष्टि र मानवतत्वको सन्तुलनलाई प्रतिनिधित्व गर्दछ।
अशुभ शक्तिको नास: सोघा वा दुरात्मा खेदाएर मानिस र वातावरणलाई सुरक्षित राख्न यसको प्रयोग गरिन्छ।
चारकोसे जङ्गलको सडकमा स्थापना गरिएको यो सिलामसाक्माले धार्मिक आस्था जगाउनुका साथै चालकहरूलाई सडकमा सचेत गराउन मनोवैज्ञानिक भूमिका खेल्ने विश्वास लिइएको छ।
लिम्बू पत्रकार संघ सुनसरीका अध्यक्ष स्वर्णिमहाङ फोम्बो लिम्बुका अनुसार, “यस धार्मिक विम्बले सडक प्रयोगकर्ताहरूमा उच्च सतर्कता र आध्यात्मिक विश्वास पैदा गरी दुर्घटना न्यूनीकरणमा ठूलो मद्दत पुर्याउनेछ ।