धरानः धरानमा लागूऔषधसहित किशोरकिशोरी र युवायुवती पक्राउ परेका छन् ।
धरान उपमहानगरपालिका वडा नं. १६ पौडेल चोकमा लागूऔषध कारोबार भइरहेको सुइँको पाएको प्रहरीले टोलीले ५ जनालाई पक्राउ गरेको हो ।
शंका लागि चेकजाँच गर्दा उनीहरूको साथबाट लागूऔषध भेटेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा धरान–१३ बस्ने २२ वर्षीय अनिष तामाङ, धरान–१३ कै १८ वर्षीय प्रतिमा राजधामी, धरान–१६ बस्ने १८ वर्षीय निराजन तामाङ, पाँचथर फिदिम नगरपालिका वडा नं. १ बस्ने २१ वर्षीय पुरप राना मगर र २१ वर्षीय अविनाश थापा मगर रहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई ट्रामाडोल–३१३ क्याप्सुल, स्पास्पेन–१९५ ट्याब्लेट, स्पास्पेन प्रो–१०० ट्याब्लेट र स्पासरेस्ट–१० ट्याब्लेटसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईले जानकारी दिए । पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, सुनसरीको दुहबी नगरपालिका–५ स्थितबाट इलाका प्रहरी कार्यालय दुहबीले इटहरी उपमहानगरपालिका–९ का २२ वर्षीय निमा शेर्पालाई १ ग्राम ब्राउन सुगरसहित इलाका प्रहरी कार्यालय इटहरीले ६२० मिलिग्राम ब्राउन सुगरसहित इटहरी–५ का २३ वर्षीय बादल चौधरीलाई पक्राउ गरेको छ ।
झापाको झापा गाउँपालिका–१ स्थितबाट इलाका प्रहरी कार्यालय कुमरखोद झापाले काभ्रेपलाञ्चोक घर भई हाल शिवसताक्षी नगरपालिका–९ दुधे बस्ने ३० वर्षीय बिराज भुजेललाई १ ग्राम ६७ मिलिग्राम ब्राउन सुगरसहित, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको संयुक्त टोलीले इलामको सूर्योदय नगरपालिका–४ का २६ वर्षीय सलमान थापालाई २ ग्राम ४९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
त्यसैगरी मोरङको विराटनगर महानगरपालिका–१५ स्थितबाट इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरले लेटाङ नगरपालिका–२ का १८ वर्षीय सुमित ठकुरी र सोही स्थानका २५ वर्षीय विकास भुजेललाई १० ग्राम ९४० मिलिग्राम ब्राउन सुगरसहित, इलाका प्रहरी कार्यालय रंगेलीले धनपालथान गाउँपालिका–२ स्थितबाट ९६ किलो १९८ ग्राम लागूऔषध गाँजा बरामद गरेसँगै धनपालथान–१ नोचा का २७ वर्षीय सुमनकुमार साह र सोही स्थानका २७ वर्षीय अमर साहलाई पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त टोलीले बेलबारी नगरपालिका–१ का ३१ वर्षीय अजय साहीलाई ३ ग्राम ८४० मिलिग्राम ब्राउन सुगर र को २७ प ७०७१ नम्बरको मोटरसाइकल सहित नियन्त्रणमा लिएको छ ।