Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बजेटः आरोपप्रत्यारोपमै सीमित, यसपटक पनि आएन

हाम्रो कोशी आवाज
साउन २२ २०८३, शुक्रबार
धरानको बजेटः आरोपप्रत्यारोपमै सीमित, यसपटक पनि आएन

कार्यवाहक मेयर बेघाले ०८४ मा चुनाव जित्ने खालको बजेट ल्याएपछि भाँडभैलो

धरानः धरान उपमहानगरपालिकाको शुक्रबार हुने भनिएको कार्यपालिका बैठक र नगरसभा हुन सकेन । शुरुदेखि नै विवादका बीच उपमहानगरपालिकामा यो वर्ष पनि समयमा नै बजेट आउन सकेको छैन ।
भनौं यस वर्ष पनि बजेट होलिडेमा गएको छ । उपमहानगरले यो पटक पनि संवैधानिक सीमा असार १० गतेभित्र २०८३–८४ को बजेट ल्याउन नसकेको हो । यसअघि दुई वर्ष समयमा नै बजेट ल्याउन नसक्दा धरान उपमहानगरपालिका दुईपटक बजेट होलिडेमा गएको थियो । स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट नगरसभामा प्रस्तुत गर्नुपर्ने कानुनी व्यवस्था रहेपनि उपमहानगरले निर्धारित समयसीमाभित्र बजेट ल्याउन नसकेको हो ।
लगातार दोस्रो वर्ष बजेट प्रस्तुतिकरणमै ढिलाइ भएपछि धरानको वित्तीय व्यवस्थापन, विकास योजना र सेवा प्रवाहमा पुनः अनिश्चितता देखिँदै गएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट प्रस्तुत गरी साउन १ गतेदेखि कार्यान्वयनमा लैजानुपर्ने व्यवस्था छ । धरान उपमहानगरपालिका विगत केही वर्षदेखि बजेट ढिलाइ, राजनीतिक विवाद र आर्थिक स्रोतको यथार्थ आँकलनबारे प्रश्नको केन्द्रमा रहँदै आएको छ । चालु आर्थिक वर्षको बजेट समेत असोजमा मात्रै पारित भएको थियो । समयमै बजेट नआउँदा उपमहानगरको कार्य नै प्रभावित हुने गरेको छ । अघिल्लो आवको बजेट असोज ४ गतेमात्रै आएको थियो ।
कार्यपालिका बैठक र नगरसभा नै स्थगित
शुक्रबार कार्यपालिका बैठक र नगरसभा एकसाथ डाकिएको थियो । बिहान ९ बजेदेखि कार्यपालिका बैठक र १ बजेदेखि नगरसभा हुने जानकारी थियो ।
बजेटलाई अन्तिम रूप दिन बजेट तर्जुमा समितिको बैठक चलिरहेको समयमा चर्काचर्की र लफडा भएपछि सबै कार्य स्थगित भएको कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
‘बैठकमै वडा नं. १८ का वडाध्यक्ष नरेन्द्रकुमार राई (प्रविण) र वडा नं. १५ का वडाध्यक्ष नरेश इवारमले मलाई अमर्यादित तथा अश्लील अभिव्यक्ति प्रयोग गरिनुका साथै बैठकको मर्यादाविपरीत व्यवहार गरिएकाले बैठकको वातावरण अत्यन्त असहज बन्न पुग्यो’, कार्यवाहक मेयरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
के भन्छन् वडाध्यक्ष राई ?
उता कार्यवाहक मेयर बेघाले बजेटजति सबै आफू केन्द्रित ल्याएको वडाध्यक्षहरूको भनाइ छ । कार्यवाहक मेयरले बेघाले नगर भिजन कोषका लागि ३ करोड, नगर गौरव आयोजनाका लागि ११ करोड, टालटुले विकासका लागि ४ करोड, सहकारीको ५ करोड बजेटको लागि अड्डी कसेपछि बैठकमा केही भनाभन भएको धरान–१८ का वडाध्यक्ष प्रविन राईले बताए । ‘यस्तो खुद्रा बजेट त कति छ कति’, उनले भने, ‘कार्यवाहक ज्यू नगरपिता हो, सबैलाई मिलाएर लान सक्नुपर्दथ्यो तर मेरो गोरुको बाह्रै टक्का भन्दै आफैं टेबल ठोक्दै के कुट्नुहुन्छ भनेपछि केहीबेर भनाभन भएकै हो’, उनले भने ।
उनले कार्यवाहकको मुस्कानअनुसारको व्यवहार नभएको समेत आरोप लगाए । ‘उहाँको बाहिरीरुपमा जति मुस्कान जति छ, भित्रीरुपमा त्यस्तो छैन’, वडाध्यक्ष राईले भने, ‘मिलाएर जाने दायित्व उहाँको हो तर त्यस्तो देखिएन, हिटलरको स्टाइलको जान खोज्नुभएको छ, उहाँको केटाकेटीपनले धरानको बेइज्जत हुन खोजिरहेको छ र उहाँले त्यस्तै खोजिरहनुभएको छ ।’ उनले भने ।
कार्यपालिका बैठक र नगरसभा साउन २१ गतेका लागि तोकिएपनि उपमहानगरपालिकाकै सफाइ कर्मचारी मन्दिप राईको निधन भएसँगै शोक बिदा दिइएको थियो । बैठक र नगरसभा शुक्रबारका लागि सारिएको थियो ।
चुनाव जित्ने बजेट ल्याएपछि भाँडभैलो
कार्यवाहक मेयर बेघा पनि २०७४ को निर्वाचनमा मेयर पदमा उठ्ने चर्चा छ । मेयरको चर्चासँगै चुनाव जित्ने आधार पहिल्याउँदै उनले आफूकेन्द्रित र जनभावना केन्द्रित बजेट ल्याउन खोजेका थिए । उनले स्कुल बस खरिद, शवबाहन खरिद, एम्बुलेन्स खरिद गर्ने प्रस्ताव ल्याएका थिए । साथै बराह, श्रेया बचतका पीडितलाई न्याय दिलाउन भन्दै ५ करोड, सुकुम्बासीको निम्ति ५० लाख बजेट छुट्याउन कोसिस गरेपछि यसै विषयमा भाँडभैलो मच्चिएको नाम नछाप्ने शर्तमा एक वडाध्यक्ष बताउँछन् ।
धरानमा आवश्यक ठान्दै प्रदेश सरकारबाट बजेट समेत आएको सामुदायिक विद्यालयका लागि स्कुल बस, उपमहानगरपालिकाको आफ्नै एम्बुलेन्स, शवबाहन खरिद गर्ने कार्यवाहक मेयर बेघाको प्रस्ताव थियो । उपमहानगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीको यातायात सहज बनाउन स्कुल बस, आकस्मिक स्वास्थ्य सेवाका लागि एम्बुलेन्स तथा सर्वसाधारणको आवश्यकतालाई मध्यनजर गर्दै शवबाहन खरिद गर्ने प्रस्ताव उनको थियो । ‘विशेषतः कांग्रेस–एमालेकै वडाध्यक्षले पहिलादेखि यिनीहरु विषयमै विरोध गर्दै आएका थिए’, कार्यवाहक मेयर बेघाले भने, ‘बजेटमा सहमति जुटाउन कार्यपालिका तह साथै अन्य तहमा पनि पटक–पटक छलफल भएपनि ठोस निष्कर्ष भने निस्किन सकेकै छैन ।’
उपमहानगरका प्रवक्ता एवम् १४ नं. वडाका वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले स्कुल बस, एम्बुलेन्स, शवबाहन खरिद गर्ने विषयमा यसअघि पनि विषय उठेको तर बजेट कम भएको र सबै क्षेत्रमा छुट्याइनुपर्ने हुनाले यस विषयमा पछि कुरा गर्ने एक खाले सहमति बनेको बताए ।
कार्यपालिका बैठक र नगरसभाका विषयमा १५ नं. वडाका वडाध्यक्ष नरेश इवारमलाई फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
गत वर्ष पनि मेयर हर्कराज राई साम्पाङ, उपमेयर अइन्द्रविक्रम बेघा र वडाध्यक्षहरूको स्वार्थ बाझिँदा उनीहरूबीच असहमति बढेपछि असोजमा मात्रै बजेट पारित भएर आएको थियो ।
तोकिएको समयसीमा भित्र बजेट नल्याउँदा नयाँ आर्थिक वर्षसँगै धरान उपमहानगरपालिका बजेटबिहीन अवस्थामा पुगेको छ । यही अवस्थाले अझै बजेट कहिले आउने हो निश्चित छैन । त्यसको असर उपमहानगरपालिकाले दीर्घकालीनरूपमा भोग्छ ।

प्रकाशित मिति: साउन २२ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend