धरानः ४१८ केजी गाँजासहित धरानका एक व्यक्तिसहित चारजना पक्राउ परेका छन् ।
कारमा २२ वटा प्लास्टिकको पोकामा प्याक गरिएको अवस्थामा ४१८ केजी लागूऔषध गाँजा फेला परेपछि कार चालक धरान उपमहानगरपालिका वडा नं. १३ बस्ने ३४ वर्षीय थमन राईसहित अन्य व्यक्ति पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
कारमा सवार ओखलढुङ्गा मानेभन्ज्याङ गाउँपालिका वडा नं. ५ बस्ने २२ वर्षीया जीवनी राईलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै, मोटरसाइकल चालक मोरङ कटहरी गाउँपालिका वडा नं. ३ बस्ने २६ वर्षीय अमर कामत, मोटरसाइकलमा पछाडि सवार सोही गाउँपालिकाका ३८ वर्षीय शंकर चौधरीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
शनिबार बिहान ५ः३० बजे सुनसरी बराहक्षेत्र नगरपालिका वडा नं. १ गुप्त बराहस्थित बराहक्षेत्र–चतरा भित्री सडक खण्डमा लागूऔषध ओसारपसार तथा कारोवार भइरहेको छ भन्ने प्राप्त सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको प्र.१–०२–००२ च. ४८५१ नम्बरको कार र को. ११ प. ५६०१ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा कारभित्र गाँजा फेला परेको थियो । सो लागूऔषध, कार र मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
सुनसरीमा पछिल्लो समय ठूलो परिमाणमा गाँजा बरामद हुने क्रम बढेको छ। विशेषगरी कोशी प्रदेशका पहाडी जिल्लाबाट उत्पादन तथा संकलन गरिएको गाँजा सुनसरी हुँदै भारततर्फ तस्करी हुने गरेको प्रहरी अनुसन्धानबाट देखिँदै आएको छ।
धनकुटालगायत पहाडी क्षेत्रमा उत्पादन हुने गाँजा धरान, बराहक्षेत्रको चतरा, विष्णुपादुका तथा आसपासका क्षेत्र हुँदै विभिन्न माध्यमबाट सीमावर्ती क्षेत्रमा पुर्याउने गरेको प्रहरीको भनाइ छ। तस्करहरूले प्रहरीको निगरानी छल्न सवारीसाधन परिवर्तन गर्ने, गाँजालाई विभिन्न पोकामा प्याक गर्ने तथा स्थानीय सडक प्रयोग गर्ने गरेको प्रहरीको दाबी छ।
बराहक्षेत्र–चतरा सडकखण्डमा ठूलो परिमाणमा गाँजा बरामद हुनुले उक्त सडक लागूऔषध तस्करीका लागि प्रयोग भइरहेको संकेत गरेको छ। प्रहरीले पक्राउ परेकाहरूको बयान तथा उनीहरूको सम्पर्क र गाँजा कहाँबाट ल्याइएको तथा कहाँ लैजान लागिएको थियो भन्ने विषयमा अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीले पछिल्लो समय लागूऔषध नियन्त्रणका लागि पहाडी क्षेत्रबाट तराई हुँदै भारततर्फ जाने सम्भावित नाकासहित सडकखण्डमा निगरानी बढाएको जनाएको छ।
