धरानः धरानमा पनि केहीदिन यता ग्याँसको अभाव छ । धरानमा बिक्रेता र सरकार भने उपभोक्तालाई दोष दिएर ग्याँस अभावको समस्याबाट पन्छिँदै आएका छन् । सरकार, उपभोक्ताको दुवैको उत्तर छ– उपभोक्ताले आवश्यकताभन्दा बढी जोहो गर्दा ग्यास अभाव सिर्जना भयो ।
तर, उपभोक्तालाई देखाएर सरकारी निकाय र बिक्रेता आफ्नो कमजोरीबाट पन्छिन नमिल्ने उपभोक्ताको भनाइ छ । आधा सिलिन्डरबाट भरी सिलिन्डरमा ग्याँस वितरण हुँदा समस्या आएको र उपभोक्तालाई दोष दिन नमिल्ने धरान–१६ का उपभोक्ता प्रविन ढकाल बताउँछन् ।
बढी खपत हुँदा र ग्यास पाइँदैन भन्ने सोचले सबै खाली सिलिन्डर एकैपटक भर्न खोज्दा अभाव देखिएको धरान उपमहानगरपालिकाका अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले बताएका छन् । धरानमा ग्याँसको अभाव हल्ला शुरु भएपछि उपभोक्ताहरुले धेरै वडा सिलिण्डर भण्डारण गर्ने गरेको पाइएको उनले जानकारी दिए ।
‘उपभोक्ताहरुले धेरै सिलिण्डर घरमा राख्ने गरेपछि यस्तो अवस्था आएको छ’, उनी भन्छन्, ‘ग्याँस डिलरहरुलाई एउटा परिवारमा एउटा सिलिण्डर मात्र बिक्री गर्न अनुरोध पनि गरेका छौं ।’ उनले एक परिवारलाई एउटा मात्र सिलिण्डर दिन दिर्नेशन दिएको पनि बताए ।
उनले एक महिनासम्म पुग्ने ग्यास भए तत्काल लाइनमा नबस्न आग्रह गरे । भरी सिलिन्डर आएपछि एकैचोटि बजारमा चाहिनेभन्दा बढी सिलिन्डर आएका कारण एकैचोटि माग बढेकाले पुरयाउन नसकिएको बिक्रेताहरू बताउँछन् । त्यसकारण एउटा मात्र सिलिन्डर हुनेले ग्यास नपाउने स्थिति बनेको बिक्रेताको भनाइ छ । ग्यास अभाव हुनुको अर्को कारण उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर राख्नु र यस्तो बेला सबै भर्न खोज्नुसमेत रहेको बिक्रेताहरू बताउँछन् ।
धरान उपमहानगरपालिकाले अहिले ग्यास अभाव हुन नदिन नियमितजसो अनुगमन गरिरहेको अनुगमन अधिकृत सापकोटाले बताए । धरान–१५ को प्रिमा डिपो पोइन्ट र धरान–११ को प्रिमा ग्यासले अनाधिकृतरुपमा बिक्री गरेको भेटिएको उनले जानकारी दिए । उनले सो उद्योगका सञ्चालकलाई तीनदिनभित्र लिखित जवाफ पेश गर्न र ग्याँस सिलिण्डरहरू सबै तत्काल मुख्य डिलरलाई फिर्ता गर्न निर्देशन दिएको बताए ।