धरानः श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले हामी कुन देशमा छौँ भन्ने प्रश्नको उत्तर खोजिरहेको बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले देशमा सुरक्षा नभएको बताए ।
‘हामी देशमा त छौँ तर कस्तो देशमा छौँ भन्ने कुराको उत्तर खोजिरहेका छौँ । यस्तो देश हाम्रो भयो जुन देशको प्रधानमन्त्रीले हामीले छिमेकी मुलुकको सिमाना मिचेका छौँ भन्नुपर्ने, त्यस्तो देश जुन देशमा सुरक्षा छैन । न्याय छैन, सेवा सुविधा र अवसर छैन । राज्यले सबैभन्दा पहिला दिनुपर्ने सुरक्षा हो । नागरिक आज सुरक्षित छैनन् । सांसद पनि सुरक्षित छैनन्’ उनले भने ।
सांसद राईले देशमा व्याप्त बेथिति, भ्रष्टाचार र दण्डहीनताको अन्त्यका लागि अपराधीहरूलाई सार्वजनिक रूपमा कोर्रा हान्ने कानुन बनाउन प्रस्ताव गरेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद राईले विद्यमान कानुनी प्रक्रिया झन्झटिलो र सेटिङमा चल्ने गरेको भन्दै कडा सजायको व्यवस्था गर्न माग गरेका हुन् ।
सांसद राईले संसद्मा बोल्दै अपराधीहरूलाई समात्ने, छानबिन गर्ने र फेरि सेटिङमा छाड्ने प्रवृत्तिले देश बर्बाद भएको बताए। ‘मेरो–तेरो नभनीकन फटाहालाई कर्यापझ्याप पारेर हानौँ न कोर्राले । त्यस्तो कानुन बनाऔँ, यही हो कानुन बनाउने ठाउँ,’ राईले भने । राईले मायाले छानबिन गरेर र सोधपुछ गरेर अपराधीहरू नसुध्रिने दाबी गर्दै बेथितिको समूल नष्ट गर्न कोर्रा नै अन्तिम विकल्प भएको बताए।
राईले देशको सुरक्षा अवस्था र प्रधानमन्त्रीको कार्यशैलीप्रति पनि प्रश्न उठाए । प्रधानमन्त्रीले छिमेकी मुलुकसँगको सीमा विवादका विषयमा दिएको अभिव्यक्ति राष्ट्रहित विपरीत रहेको उनको आरोप थियो। ‘हामी कस्तो देशमा छौँ जहाँ प्रधानमन्त्री नै भन्छन् हामीले छिमेकीको सीमा मिचेका छौँ। यहाँ न सुरक्षा छ, न न्याय, न सेवा सुविधा,’ राईले भने।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रयोग गरेको ‘कोर्रा हान्ने’ भन्ने शब्दप्रति आपत्ति जनाएकी छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद रानाले यस्ता अमानवीय र क्रुर शब्दहरूको प्रयोग लोकतन्त्र र मानव अधिकारको मर्म विपरीत हुने बताइन् ।
सांसद रानाले आफू विगत लामो समयदेखि बालबालिका र कैदीबन्दीको हकहितका लागि लड्दै आएको स्मरण गराइन् । ‘मानिसलाई यातना दिने र कोर्रा लगाउने जस्ता कार्य विरुद्ध कानुन ल्याउन वकालत गर्ने व्यक्तिहरूमध्ये म पनि एक हुँ,’ रानाले भनिन् । वर्षौँको मेहनतपछि नेपालमा शारीरिक यातनालाई निषेध गर्ने कानुन बनेको अवस्थामा पुनः यस्ता शब्दहरू सुन्नु दुःखद भएको उनको टिप्पणी थियो।
अपराध जोसुकैले गरोस् वा जुनसुकै परिस्थिति होस्, नागरिकलाई कोर्रा हान्ने भन्नु शोभनीय नहुने उनले बताइन् । ‘यो गरिमामय सदनमा कोर्रा जस्तो शब्द प्रयोग हुनु उपयुक्त छैन। आफ्ना जनतालाई चाहे ती अपराधी नै किन नहुन्, यस्तो शब्द प्रयोग गरिनुहुँदैन,’ सांसद रानाले भनिन् ।
राईलेले सार्वजनिक रूपमा वा संसद्मा प्रसंगवश आएका यस्ता शब्दहरूलाई संसद्को आधिकारिक रेकर्डबाट हटाउन उनले सभामुखसँग अनुरोध गरिन् ।
राईले गलत काम गर्नेलाई कोर्रा हान्नुपर्ने बताएका थिए ।