धरान उपमहानगरपालिका बाँदर आतंकले गर्दा आजीत बनेका धरानबासीको लागि बजेट छुट्टिएको छ ।
यस वर्ष बाँदर नियन्त्रणका लागि पनि बजेट विनियोजन भएको हो । बाँदर नियन्त्रणका लागि १० लाख रुपैयाँ बजेट विनियोजन भएको कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले जानकारी दिए । बाँदर नियन्त्रणका लागि उपमहानगरपालिकाले के कार्यक्रम ल्याउँछ भन्ने प्रश्नमा उनले भने ‘ढिलै भएपनि बाँदर नियन्त्रणका लागि बजेट आएको छ’, उनले भने, ‘मैले धेरै बोलिनँ, पछि कार्यक्रम आएपछि भनौंला ।’
निवर्तमान मेयर हर्कराज राई साम्पाङले बाँदर नियन्त्रण गर्ने भन्दै सर्दु जलाधार क्षेत्रमा वृक्षारोपण गरेका थिए । अहिले फलफूलका विरुवा हुर्किन भने बाँकी छ ।
धरानमा बाँदरले टोकेर धेरैजना घाइते समेत भएका छन् । बजार छिर्न थालेका बाँदरका हुलले धरान बजार आतंकित भइरहेको छ । वर्षौदेखि बाँदरको समस्या समाधान हुन नसक्दा धरानबासी बाँदर आतंकले स्थानीय आजित भएका छन् ।
हुलका हुल बाँदर बजार क्षेत्रमा प्रवेश गरेर भान्सामा पकाएका खाना खाइदिने, होटल व्यवसायीले बनाएको खाना तथा नास्ता लिएर भाग्ने, छरिदिने, फलफूल तथा सागसब्जी व्यापारीहरुको सामान चोरेर खाइदिने गर्दा धरानबासी आजीत छन् । बाँदरले पसलमा राखेका सामग्रीहरु समेत च्यातिदिने, झारिदिने लगायतका उच्छृङ्खल काम गरेर क्षति पुरयाउने गरेका कारण पनि धरानका सर्वसाधारणले हैरानी व्यहोर्नु परेको कार्यवाहक मेयर बताउँछन् ।
बाँदरले धेरै हैरानी दिएपछि बाँदर व्यवस्थापनका लागि २०७० सालमा धरान ३ निवासी सकुल श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय बादर पीडित संघर्ष समिति गठन भएको थियो । समितिले बाँदर व्यवस्थापनका लागि धरान उपमहानगरपालिका, जिल्ला वन कार्यालय सुनसरी लगायतका कार्यालयमा पटक पटक ज्ञापनपत्रसमेत बुझाउँदै आएका छन् ।

बाँदर समाधानका लागि स्थानीय सरकार, प्रदेश सरकारमा धेरैपटक गुहारेपनि समाधान हुन नसकेको र यी निकाय कहिल्यै गम्भीर नबनेको उनले पटक पटक गुनासो गर्दै आएका थिए ।
यसअघि उपमहानगरपालिकाले समाउँदै बाँदर व्यवस्थापनका गर्दै कोशी टप्पु वन्यजन्तु आरक्षण, बर्दियाको राष्ट्रिय निकुञ्जमा बाँदर व्यवस्थापन समेत गरेको थियो । बाँदरले मुख्य गरेर धरान १४ विजयपुर, धरान १ रेडक्रस लाइन, धरान २ पुरानो बजार, धरान ३ माछाभौडीमा दुःख दिने गरेपनि अहिले भने बाँदरको संख्यामा वृद्धि हुँदै गएको र विस्तारै धरानको मुख्य बजार मानिएको भानुचौक, महेन्द्र पथ, चतरालाइन लगायतका क्षेत्रमा समेत प्रवेश गरेर दुःख दिँदै आएका छन् ।
अहिले धरानमा २०० देखि ३०० को संख्यामा बाँदर रहेको अनुमान गरिएको छ ।
यसअघि लकडाउनका कारण बाँदर भोकभोकै हुन थालेपछि धरानका मुख्य बजार र पुरानो बजार क्षेत्रमा घरघरै प्रवेश गरेका थिए । घरघरै प्रवेश गरेर बाँदरले आतङ्क सिर्जना गर्दै टोक्ने, चिथोर्ने, सामान खोसेर खाने समेत गर्ने गरेपछि आजीत भएर सर्वसाधारणले प्रत्येक घर अगाडिजस्तो बाँदरले आक्रमण गरेको सूचना टाँसेका थिए ।
हेरौं सूचना
घरैपिच्छेजस्तो टाँसिएको सूचनामा भनिएको छ–बाँदरको आक्रमण बढेको कारण कृपया बाँदरलाई गहुँ तथा अन्य खानेकुरा नहाल्नुहोला ।
धरानका धार्मिक क्षेत्रमा रहेका बाँदरहरू आहाराका लागि त्यहाँ आउने मानिसहरूमा भर पर्थे । धरानका दन्तकाली, पिण्डेश्वर, बुढासुब्बा मन्दिरलगायतका क्षेत्रमा बाँदर पुगेर आहारमा भर पर्दथे ।