Hamro Koshi Aawaj

मंगलबार, भाद्र २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको चट्याङ नाप्ने उपकरण बिग्रेर थन्कियो

हाम्रो कोशी आवाज
साउन २८ २०८३, बिहिबार
धरानको चट्याङ नाप्ने उपकरण बिग्रेर थन्कियो

धरानः वर्षायाम सुरु भएसँगै कोशी प्रदेशका पहाडी तथा तराई जिल्लामा चट्याङका घटना बढ्ने गरेका छन् । पछिल्लो पाँच वर्षमा कोशी प्रदेशमा चट्याङका कारण ६६ जनाले ज्यान गुमाएका छन् भने २१८ जना घाइते भएका छन् ।
गत असार १३ गते मध्यरात मुसलधारे पानी परिरहेका बेला इलामको रोङ गाउँपालिका–६, सलकपुरका ८८ वर्षीय कालुवीर मोक्तानको चट्याङ लागेर मृत्यु भयो । काठको बेरा र टिनको छानो भएको दुईतले घरको बरन्डामा बसिरहेका मोक्तानलाई राति करिब १ बजे चट्याङ लागेको थियो ।
त्यसैगरी, गत असार १४ गते सङ्खुवासभाको मकालु गाउँपालिका–१, चिर्खाङमा चट्याङ लागेर ३९ वर्षीया कुमारी राईको मृत्यु भयो । ठूलो वर्षा र हावाहुरी चलिरहेका बेला घरमा रहेको मिटर बक्स बन्द गर्ने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएकी राईलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र नुमतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
यी घटना चट्याङबाट हुने क्षतिका केही उदाहरण मात्र हुन् । बाढी र पहिरोजस्ता देखिने विपद्को तुलनामा कम चर्चा हुने चट्याङले पनि हरेक वर्ष ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याउँदै आएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पछिल्लो पाँच वर्षको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ देखि चालु आव २०८२/८३ को असारसम्म चट्याङका कारण ६६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४४ पुरुष र २२ महिला छन् । सो अवधिमा २१८ जना घाइते भएका छन् । घाइतेमध्ये ११५ पुरुष र १०३ महिला छन् ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार पुरुषहरू बाहिरी काममा बढी संलग्न हुने भएकाले महिलाको तुलनामा पुरुष चट्याङको जोखिममा बढी पर्ने गरेका छन् ।
कार्यालयका अनुसार आव २०७८/७९ मा १५ जना, आव २०७९/८० मा १२ जना, आव २०८०/८१ मा १२ जना, आव २०८१/८२ मा १८ जना तथा चालु आव २०८२/८३ को असार २५ गतेसम्म नौ जनाको चट्याङका कारण मृत्यु भएको छ ।
पाँच वर्षको अवधिमा चट्याङबाट घाइते हुनेको संख्या सबैभन्दा बढी ओखलढुङ्गामा ४३ जना रहेको छ । भोजपुरमा ४०, उदयपुरमा ३३, खोटाङमा २७ र ताप्लेजुङमा १९ जना घाइते भएका छन् । त्यस्तै झापा र सुनसरीमा १३/१३ जना, धनकुटामा नौ जना, पाँचथर र मोरङमा आठ/आठ जना तथा सोलुखुम्बुमा छ जना घाइते भएका छन् । इलाम, तेह्रथुम र सङ्खुवासभामा भने उक्त अवधिमा चट्याङबाट घाइते भएको विवरण शून्य रहेको छ ।
चट्याङबाट मानिस मात्र नभई पशुधन र भौतिक संरचनामा समेत ठूलो क्षति हुने गरेको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता थापाका अनुसार पाँच वर्षको अवधिमा चट्याङका कारण एक हजार ३२ वटा पशुचौपाया मरेका छन् । चट्याङका कारण लागेको आगलागीबाट प्रदेशका १७० वटा घर तथा गोठ जलेर नष्ट भएका छन् । त्यसबाट रु तीन करोड ७२ लाख ६५ हजार ३५० बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
बाढी र पहिरोको तुलनामा चट्याङका घटनाले कम चर्चा पाए पनि ग्रामीण क्षेत्रमा यसको जोखिम उच्च रहेको छ । गाउँघरका काठ र टिनले बनेका घरमा चट्याङबाट बच्ने ‘अर्थिङ’ जडान नहुने तथा जोखिमबारे पर्याप्त जानकारी नहुँदा क्षति बढ्ने गरेको छ ।
जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ विभागीय मौसमविद् विभूति पोख्रेलका अनुसार पछिल्ला केही वर्षयता मौसममा देखिएको अस्थिरता र जलवायु परिवर्तनको प्रभावका कारण मेघगर्जनसहित चट्याङका घटना बढ्दो क्रममा देखिएका छन् ।
“मनसुन तथा प्रि–मनसुन अवधिमा मौसममा अचानक परिवर्तन भई मेघगर्जन, हावाहुरी र वर्षासँगै चट्याङ पर्ने सम्भावना उच्च रहने भएकाले विशेष सतर्कता आवश्यक हुन्छ”, उनले भनिन् ।
चट्याङले विशेषगरी खुला स्थानमा रहेका मानिसलाई बढी प्रभावित गर्ने गरेको मौसमविद् पोख्रेलले बताइन् । खेतबारीमा काम गरिरहेका किसान, पशुचौपाया चराइरहेका गोठाला, जङ्गलमा घाँसदाउरा सङ्कलन गर्न गएका स्थानीय तथा खुला चौर, डाँडाकाँडा वा नदीकिनारमा रहेका व्यक्ति बढी जोखिममा पर्ने गरेका छन् ।
मौसम खराब हुने सङ्केत देखिएलगत्तै खुला स्थानबाट सुरक्षित आश्रयमा जानुपर्ने, अग्ला रुखमुनि नबस्ने तथा बिजुलीका पोल, टेलिफोनका तार, ट्रान्सफर्मर र अन्य धातुजन्य संरचनाबाट टाढा रहनुपर्ने उनको सुझाव छ । सकेसम्म पक्की भवनभित्र बस्ने, झ्याल–ढोका बन्द गर्ने, विद्युतीय उपकरणको अनावश्यक प्रयोग नगर्ने तथा मौसमसम्बन्धी सूचना र पूर्वानुमान नियमित रूपमा पछ्याउनुपर्ने उनले बताइन् ।
चट्याङबाट हुने क्षति न्यूनीकरणका लागि व्यक्तिगत सावधानीसँगै विद्यालय, स्थानीय तह, समुदाय तथा सरोकारवाला निकायले नियमित जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने मौसमविद् पोख्रेलको भनाइ छ । मौसमसम्बन्धी पूर्वसूचना प्रभावकारी रूपमा स्थानीयस्तरसम्म पुर्‍याउन सके मानवीय तथा भौतिक क्षति घटाउन सकिने उनले बताइन् ।
अभिलेख राख्न ‘लाइटनिङ डिटेक्सन नेटवर्क’ आवश्यक
चट्याङ कहाँ, कहिले, कति पटक र कति तीव्रतासहित परेको थियो भन्ने वैज्ञानिक अभिलेख राख्न ‘लाइटनिङ डिटेक्सन नेटवर्क’ आवश्यक मानिन्छ । कोशी प्रदेशमा यस्तो प्रणाली प्रभावकारी रूपमा सञ्चालनमा नहुँदा चट्याङका घटनाको विस्तृत र वैज्ञानिक अभिलेख राख्न चुनौती रहेको छ ।
जल तथा मौसम विज्ञान कार्यालय धरानका सूचना अधिकारी रूपक थापाका अनुसार प्रदेशभर चट्याङको स्थान, समय, आवृत्ति र तीव्रता मापन गरी अभिलेख राख्ने प्रणाली हाल सञ्चालनमा छैन । उनका अनुसार कोशी प्रदेशमा अहिले विराटनगर विमानस्थलमा रहेको ‘लाइटनिङ डिटेक्टर’बाट मात्रै सीमित रूपमा विवरण प्राप्त हुने गरेको छ ।
विमानस्थलको हवाई सेवा सञ्चालनसँग सम्बन्धित प्रयोजनका लागि जडान गरिएको उक्त उपकरणले विमानस्थल सञ्चालन अवधिमा मात्र रेकर्ड गर्ने भएकाले प्रदेशभरका चट्याङका घटनाको समग्र विवरण सङ्कलन गर्न पर्याप्त नरहेको थापाले बताए ।
धरानमा पनि ‘लाइटनिङ डिटेक्टर’ उपकरण रहेको छ । केही वर्षअघिसम्म सञ्चालनमा रहेको उक्त उपकरण अहिले बिग्रिएको अवस्थामा छ । आवश्यक मर्मत तथा स्तरोन्नति हुन नसक्दा उपकरण पुनः सञ्चालनमा आउन सकेको छैन ।
“धरान कार्यालयमा रहेको लाइटनिङ डिटेक्टर लामो समयदेखि बिग्रिएको कारण अहिले कोशी प्रदेशमा विराटनगर विमानस्थलबाहेक अन्यत्र चट्याङ मापन गर्ने प्रभावकारी प्रणाली छैन”, थापाले भने ।
कोशी प्रदेशमा चट्याङका अधिकांश घटना प्रि–मनसुन र मनसुन अवधिमा हुने गरेका छन् । तर प्रदेशका कुन क्षेत्रमा, कुन समयमा, कति पटक र कति तीव्रतासहित चट्याङ पर्‍यो भन्ने तथ्याङ्क नियमित रूपमा सङ्कलन गर्ने प्रणाली नहुँदा वैज्ञानिक अध्ययन तथा जोखिम विश्लेषणमा कठिनाइ भइरहेको छ ।
चट्याङको वैज्ञानिक अभिलेखले जोखिमयुक्त क्षेत्र पहिचान, पूर्वसूचना प्रणालीको विकास, विपद् व्यवस्थापन योजना निर्माण तथा जनधनको क्षति न्यूनीकरणका लागि महत्वपूर्ण आधार प्रदान गर्ने थापाले बताए । प्रदेशका विभिन्न जिल्लामा लाइटनिङ डिटेक्सन नेटवर्क विस्तार गरी नियमित सञ्चालनमा ल्याउन सके चट्याङसम्बन्धी तथ्याङ्क सङ्कलन, अनुसन्धान तथा पूर्वतयारीका काम अझ प्रभावकारी हुने उनको भनाइ छ ।

प्रकाशित मिति: साउन २८ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend