धरानः धरान–१४ स्थित नरसिंह भगवान मन्दिरको नाममा रहेको १० कठ्ठा ५ धुर सार्वजनिक जग्गा गैरकानुनीरूपमा व्यक्तिको नाममा नामसारी गरी बिक्री गरेको आरोपमा विभिन्न पदमा कार्यरत कर्मचारी तथा अन्य व्यक्तिको हकमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरान नगरपालिकाका कर्मचारी गणेशप्रसाद खतिवडासहित ९ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानी–नोक्सानी गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
जग्गा प्रकरणमा तत्कालीन धरान नगरपालिकाका प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडा, साविक सिंगिया गाविसका तत्कालीन अध्यक्ष, सचिव कपिलमणि दाहाल, मालपोत कार्यालय सुनसरीका तत्कालीन मालपोत अधिकृत सुशील वैद्य, शाखा अधिकृत तुङ्गनाथ भण्डारी, नायब सुब्बा केदारबहादुर कार्की, धरान–१४ का तत्कालीन वडा सचिव उत्तम आले, मन्दिरका तत्कालीन पुजारी टिर्रु चौधरी र स्थानीय जग्गा कारोबारी पंकज घिमिरेविरुद्ध आरोपपत्र दायर गरिएको हो ।
आयोगले खतिवडा, दाहाल तथा मालपोत कार्यालयका कर्मचारीहरूविरुद्ध सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी तथा गलत प्रतिवेदन दिएको आरोपमा ३६ लाख १० हजार रुपैयाँ बिगो कायम गरी कैद, जरिवाना र बिगो असुलउपर गर्न मागदाबी गरेको छ ।
आयोगका अनुसार साविक भादगाउँ सिनवारी गाविस–४क का कित्ता नम्बर १ को ५ कठ्ठा ७ धुर र कित्ता नम्बर ४ को ४ कठ्ठा १८ धुर गरी कुल १० कठ्ठा ५ धुर जग्गा गलत विवरण र प्रतिवेदनका आधारमा व्यक्तिको नाममा नामसारी गरिएको थियो । उक्त दुवै जग्गा नरसिंह भगवान मन्दिरको नाममा कायम थिए ।
अनुसन्धानका क्रममा साविक सिंगिया गाविस र धरान नगरपालिका–१४ को वडा कार्यालयबाट गलत व्यहोरा उल्लेख भएको सर्जमिन मुचुल्का तथा नाता प्रमाणित प्रमाणपत्र तयार गरी जग्गा नामसारीका लागि मालपोत कार्यालय, सुनसरीमा सिफारिस गरिएको आयोगले जनाएको छ ।
मालपोत कार्यालय, सुनसरीले २०६५ जेठ २१ गते नामसारी गर्ने निर्णय गरेपछि मन्दिरको नाममा रहेको १० कठ्ठा ५ धुर जग्गा तत्कालीन पुजारी टिर्रु चौधरीको नाममा दर्ता कायम गरिएको थियो ।
आयोगका अनुसार आर्थिक वर्ष २०८२–८३ को न्यूनतम मूल्याङ्कनअनुसार उक्त सार्वजनिक जग्गाको मूल्य ३६ लाख १० हजार रुपैयाँ रहेको छ । उक्त जग्गा पछि बिक्रीसमेत गरिएको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ ।
सिंगिया गाविसका तत्कालीन अध्यक्ष–सचिव दाहालले जग्गा नामसारीका लागि कागजात मिलाउन सहयोग गरेबापत पुजारी चौधरीबाट ५ हजार रुपैयाँ घुस लिएको समेत अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।
पुजारी चौधरी र जग्गा कारोबारी घिमिरेलाई सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी गर्ने कार्यमा मतियारको भूमिका निर्वाह गरेको आरोप लगाइएको छ । चौधरीले दाहाललाई ५ हजार रुपैयाँ दिएकोसमेत आयोगले जनाएको छ ।
त्यस्तै, हाल भागमैन थरूनीको नाममा दर्ता कायम भई भोगचलनमा रहेको उक्त जग्गा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ बमोजिम जफत गरी पुनः नरसिंह भगवान मन्दिरको नाममा कायम गर्न आयोगले मागदाबी गरेको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसुर पुष्टि भएपछि अख्तियारले बिहीबार प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्ति अनुसार संलग्न प्रतिवादीहरूउपर सजाय र बिगो असुलको मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

