धरानः धरान-९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयले अब कक्षाकोठामा कृतिम बौद्धिकता अर्थात् एआई (आर्टिफिसियल इन्टेलिजेन्स) मा आधारित शिक्षण विधिको अभ्यास गर्ने भएको छ ।
शिक्षण-सिकाइ प्रक्रियालाई प्रविधिमैत्री, प्रभावकारी र आधुनिक बनाउने उद्देश्यसहित स्कुल र डीजी एकेडेमी नेपाल प्राइभेट लिमिटेडबीच स्माटोरो एआईयु प्रयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारी पत्रमा विद्यालयका प्रिन्सिपल निलमकुमार श्रेष्ठ तथा डीजीका प्रबन्ध निर्देशक हरिप्रसाद फुयाँलले हस्ताक्षर गरेका छन् ।
विशेषगरी शिक्षकलाई लक्षित गरी विकास गरिएको सो प्रविधि शिक्षा क्षेत्रमा प्रविधिको प्रयोगलाई अझ सशक्त बनाउने उद्देश्यले तयार पारिएको डिजिटल शिक्षण सहायक हो । ‘मेड इन नेपाल’ को अवधारणामा नेपाली पाठ्यक्रमअनुकूल विकास गरिएको यस प्लेटफर्मले शिक्षकहरूलाई कक्षाकोठा शिक्षणलाई अझ सजिलो, व्यवस्थित, सिर्जनात्मक र प्रभावकारी बनाउन सहयोग पुरयाउने अपेक्षा गरिएको प्रिन्सिपल श्रेष्ठ बताउँछन् ।
यसले शिक्षकको समय बचत गर्नुका साथै विद्यार्थीलाई विषयवस्तु स्पष्ट र रोचक ढंगले बुझाउन मद्दत पुरयाउनेछ । कक्षाकोठामा भिडियो, प्रश्नोत्तरी र अन्तरक्रियात्मक सामग्री प्रयोग गर्न सहज बनाउँदै सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउने उनले बताए ।
‘यस विद्यालयले बदलिँदो शैक्षिक परिवेशअनुकूल प्रविधिमैत्री शिक्षण, डिजिटल साक्षरता, नवप्रवर्तन तथा गुणस्तरीय शिक्षण–सिकाइलाई प्राथमिकतामा राख्दै आएको छ । यसै क्रममा स्माटोरो एआईजस्तो नेपाली परिवेश र पाठ्यक्रमअनुकूल प्रविधिको प्रयोगले विद्यालयका शिक्षकहरूलाई आधुनिक शिक्षण पद्धतिसँग जोड्न तथा विद्यार्थीको सिकाइ अनुभवलाई अझ प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास विद्यालयले लिएको छ’, उनी भन्छन् ।