गज्जबले चलाए संसद बैठक, सियोन स्कुलमा नमूना अभ्यास
धरानः ‘माननीय सदस्यज्यूहरू, आजको बैठकको कार्य प्रारम्भ गर्दछु, सभामुखले यति भनेर संसद् प्रारम्भ गर्ने बित्तिकै प्रतिपक्ष बेन्चका माननीयहरू उठ्छन् । त्यसपछि सभामुख फेरि भन्छिन्, ‘माननीय सदस्यज्यूहरू प्रतिपक्ष बेन्चबाट उठ्नुभएको छ । सबैजना आ–आफ्नो ठाउँमा बसौं ।
यो परिदृश्य थियो, शुक्रबार धरान–१६ स्थित सियोन स्कुलमा आयोजना भएको नमूना संसद् बैठकको । स्कुलकै ठूलो हलमा नमूना संसद् बैठक बसेको थियो । यसरी चलाइएको संसद् बैठक प्रतिकात्मक थियो । विद्यार्थीले संसद बैठक चलाएका थिए ।
सियोनका विद्यार्थी एकदिनका लागि भए पनि राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्री र सांसद् बनेर संसद् बैठक चलाएको रोचक दृश्य मात्रै थिएन, राम्रो अभ्यास पनि थियो । अमिसा मगर राष्ट्रपति, ग्रेसी ब्लोन प्रधानमन्त्री, कृष्मा सुनुवार सभामुखको भूमिकामा थिए भने सञ्चार तथा सूचना प्रविधि मन्त्रीको भूमिकामा लोजिना लिम्बू थिइन् अन्य विद्यार्थी सांसद् साथै संसदीय दलको नेताको भूमिकामा थिए ।
अभ्यासका क्रममा विद्यार्थीहरूले सभामुख, मन्त्री, सांसद तथा राष्ट्रपतिको भूमिका निर्वाह गर्दै संसदको बैठक सञ्चालन, विधेयक प्रस्तुत, छलफल, निर्णयार्थ पेश तथा प्रमाणीकरणसम्मको प्रक्रियाको अभ्यास गरेका थिए ।

यसरी चलाइएको संसद् बैठक प्रतिकात्मक थियो । जहाँ विद्यालयको सभाहलमा बसेको नमूना प्रतिनिधिसभाको बैठकमा विधेयकमाथि पहिले सैद्धान्तिक छलफल र त्यसपछि दफावार छलफल गरिएको थियो । छलफलका क्रममा विद्यार्थी सांसदहरूले विधेयकका विभिन्न प्रावधानमाथि पक्ष–विपक्षमा आफ्ना धारणा राखेका थिए ।
कक्षा–१० का विद्यार्थीहरूको सहभागितामा सञ्चालन गरिएको बैठकले ‘सामाजिक सञ्जालको सुरक्षित तथा जिम्मेवार प्रयोग विधेयक–२०८३’ बहुमतले पारित गरेको छ ।
सभामुखको भूमिकामा रहेकी कृष्मा सुनुवारले अनुमति दिएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रीको भूमिकामा रहेकी लोजिना लिम्बूले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरेकी थिइन्। छलफल सम्पन्न भएपछि सभामुख सुनुवारले विधेयकलाई निर्णयार्थ प्रस्तुत गरेकी थिइन्। त्यसपछि बहुमतले विधेयक पारित भएको घोषणा गरिएको थियो ।
विधेयकमा दफा १ देखि २९ सम्म विभिन्न व्यवस्था समेटिएका थिए । प्रतिनिधिसभाबाट पारित भएको विधेयकलाई राष्ट्रपतिको भूमिकामा रहेकी अमिसा मगरले प्रमाणित गरेकी थिइन् ।
नमूना संसदको अभ्यासपछि विद्यालयका भाइस प्रिन्सिपल राकेश चौधरीले कार्यक्रमले वास्तविक प्रतिनिधि सभाको बैठकमै बसेजस्तो अनुभूति गराएको बताए । उनले विद्यार्थीहरूलाई हौसला प्रदान गर्दै कक्षा–१० को सामाजिक शिक्षा विषयमा सरकारका प्रमुख अङ्ग, तिनका काम, सरकार गठन प्रक्रिया लगायतका विषय अध्ययन गर्नुपर्ने भएकाले यस्तो व्यावहारिक अभ्यासले विद्यार्थीको सिकाइलाई थप प्रभावकारी बनाउने बताए ।

प्रधानमन्त्रीको भूमिकामा रहेकी ग्रेसी ब्लोनले विधेयकबारे सरकारको धारणा राख्दै यसको कार्यान्वयनपछि नागरिकले कानुनको पालना गर्ने र सामाजिक सञ्जालको जिम्मेवार प्रयोगबीच सन्तुलन कायम गर्नुपर्ने बताइन् । उनले सामाजिक सञ्जाललाई निषेध होइन, सचेत र मर्यादित प्रयोगतर्फ उन्मुख गराउनु नै सरकारको उद्देश्य भएको उल्लेख गर्दै यसले विद्यार्थीदेखि आम नागरिकसम्म डिजिटल अनुशासन र उत्तरदायित्वको भावना विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
विद्यार्थीहरूलाई नमूना संसदको अभ्यास गराउन श्रावण २१ गतेदेखि २८ गतेसम्म तिर्थ कार्कीले सहजीकरण गरेका थिए । अभ्यासका क्रममा विद्यार्थीहरूले सभामुख, मन्त्री, सांसद तथा राष्ट्रपतिको भूमिका निर्वाह गर्दै संसदको बैठक सञ्चालन, विधेयक प्रस्तुत, छलफल, निर्णयार्थ पेश तथा प्रमाणीकरणसम्मको प्रक्रियाको अभ्यास गरेका थिए ।
बैठकपछि सहभागी विद्यार्थीहरूले नमूना संसदको अभ्यासबाट आफूहरूले वास्तविक संसदको बैठकमा सहभागी भएजस्तो अनुभूति गरेको प्रतिक्रिया दिएका थिए । विद्यालय तहमा गराइएको यस प्रकारको अभ्यासले पाठ्यपुस्तकमा पढेका संसदीय प्रक्रिया, लोकतान्त्रिक अभ्यास र राज्य सञ्चालनका विषयलाई व्यवहारसँग जोड्दै विद्यार्थीमा नेतृत्व क्षमता, वक्तृत्वकला, आत्मविश्वास, तर्क प्रस्तुत गर्ने क्षमता तथा संसदीय संस्कार विकास गर्न सहयोग पुग्ने देखिएको छ ।
संसद् अभ्यास कार्यक्रममा सहभागी विद्यार्थीलाई प्रतिनिधिसभाका सांसदले निर्वाह गर्ने भूमिका, संसदीय प्रक्रिया र विधेयक पारित गर्ने विधिबारेमा प्रयोगात्मक अभ्यास गराइएको डाइरेक्टर तथा प्रिन्सिपल खड्गबहादुर थापा मगरले जानकारी दिए ।










