Hamro Koshi Aawaj

मंगलबार, भाद्र २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा लागूऔषधसहित समातिए, घरमै बसिरहेका श्रीमान-श्रीमती पनि फन्दामा

हाम्रो कोशी आवाज
साउन २९ २०८३, शुक्रबार
धरानमा लागूऔषधसहित समातिए, घरमै बसिरहेका श्रीमान-श्रीमती पनि फन्दामा

धरानः धरानमा लागूऔषधसहित दुईजना पक्राउ परेका छन् ।
धरान–८ स्थित आकाश चोकबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धरान–७ बस्ने २८ वर्षीय मनोज पाण्डे र धरान–१५ बस्ने २२ वर्षीय पवन सापकोटा रहेको प्रहरीले जनाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले उनीहरुमाथि शंका लागि खानतलासी तथा चेकजाँच गर्दा निजहरुको साथबाट लागूऔषध फेला परेपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईले जानकारी दिए ।
प्रहरीका अनुसार उनीहरूको साथबाट ट्रामोल ८७० क्याप्सुल र स्पास्पेन ८६५ ट्याब्लेट गरी जम्मा १ हजार ७ सय ३५ थान लागूऔषध बरामद भएको छ । लागूऔषधसहित नियन्त्रणमा लिइएका दुवै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच ब्राउन सुगर भेटिएपछि तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका वडा नं. १ बस्ने ४१ वर्षीय मोहन गुरुङ, उनकी श्रीमती ४९ वर्षीय कुमारी राई (गुरुङ) र इटहरी–४ बस्ने २३ वर्षीय अर्जुन काफ्ले रहेका छन् । मोहन गुरुङको घरमा बसिरहेको अवस्थामा उनीहरूलाई खानतलासी तथा चेकजाँच गर्दा उनीहरूको साथबाट लागूऔषध ब्राउन सुगर ५.८५ ग्राम फेला परेको प्रहरीले जनाएको छ ।
नगद १८ हजार पचास रुपैयाँ फेला परेको हुँदा उनीहरूलाई लागूऔषध र नगदसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय इटहरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ । शिव नारायण टोलमा लागूऔषध कारोबार भइरहेको छ भन्ने प्राप्त सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
यसैबीच सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं.–२ बाट भन्सार छलेर ल्याएका लत्तापकडा बरामद भएको छ ।
इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ३ लाख आठ हजार रुपैयाँ बराबरको भन्सार छलीका अवैध लत्ता कपडाहरु बरामद गरी इलाका प्रहरी कार्यालय देवानगञ्जमा ल्याई सुनसरी भन्सार कार्यालय सेतुबन्ध पठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, इटहरी उपमहानगरपालिका वडा नं.–१७ बाट लागूऔषधसहित एकजना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले स्थानीय २५ वर्षीय अस्रफ मियाँलाई शंकास्पद अवस्थामा फेला पारी निजको शरीर खानतलासी तथा चेकजाँच गर्दा उनको साथबाट लागूऔषध ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: साउन २९ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend