धरान: मौलिक बाजा, संस्कार र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तालाई मौलिक वाद्यवादनतर्फ आकर्षित गर्ने उद्देश्यले धरानमा ‘कुटुम्ब ब्याण्ड’ र पासा खलःबीच सांगीतिक सहकार्य हुने भएको छ।
पासा खलः धरानको आयोजनामा आगामी भदौ ५ गते धरानको भानुचोकमा ‘इकोज अफ हेरिटेज’ सांगीतिक कार्यक्रम आयोजना हुने भएको हो। आयोजकका अनुसार काठमाडौं बाहिर कुटुम्ब ब्याण्डसँग पासा खलःको यो पहिलो सांगीतिक सहकार्य हो।
पासा खलःका महासचिव अमृत श्रेष्ठले नेपालका मौलिक वाद्यवादनलाई देश तथा विदेशका विभिन्न सहरमा प्रस्तुत गर्दै आएको कुटुम्ब ब्याण्डसँग नेवारी मौलिक बाजासहित सहकार्य गर्न लागिएको बताए। कार्यक्रममा धिमे लगायतका मौलिक बाजाका साधक तथा कलाकारको प्रस्तुति रहने उनले जानकारी दिए।
कार्यक्रममा पूर्वका पाँच जिल्लाबाट धिमे तथा अन्य मौलिक वाद्यवादनसँग सम्बन्धित कलाकार सहभागी हुने आयोजकले जनाएको छ। खोटाङ, झापा, धनकुटा, सुनसरीलगायत क्षेत्रका वाद्यसाधकको समेत सहभागिता रहनेछ।
पासा खलःका अनुसार कार्यक्रममार्फत लोप हुँदै गएका मौलिक बाजा तथा सांस्कृतिक परम्पराबारे जागरण फैलाउने, संरक्षण र प्रवर्द्धन गर्ने तथा मौलिक वाद्यवादनलाई व्यावसायिक रूपमा अघि बढाउने सम्भावनाको खोजी गरिनेछ।
कार्यक्रममा वरिष्ठ हास्य कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठको उपस्थिति रहनेछ। उनको प्रस्तुतिसहित कार्यक्रमको शुभारम्भ गरिने आयोजकले जनाएको छ। गायिका सबिना बिकको समेत प्रस्तुति रहनेछ।
पासा खलः धरान र कुटुम्ब ब्याण्डबीच करिब एक महिनादेखि सांगीतिक सहकार्यको तयारी भइरहेको आयोजकले जनाएको छ। प्रशिक्षणमार्फत दक्ष भएका वाद्यसाधकलाई आफ्नो सीपबाट जीविकोपार्जन गर्न सक्ने वातावरण निर्माण गर्ने उद्देश्यसमेत कार्यक्रमको रहेको छ।