धरानः ल्याब टेक्निसियन लुना अधिकारीको निधनप्रति शोक व्यक्ति गर्दै धरान उपमहानगरपालिकाले सोमबार शोकबिदा दिएको छ ।
धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाअन्तर्गत धरान स्वास्थ्यचौकीमा कार्यरत् ल्याब टेक्निसियन अधिकारीको सोमबार निधन भएको हो ।
उनको निधन भएपछि कार्यवाहक नगर प्रमुखस्तरीय निर्णयबाट सोमबार एकदिन नगर कार्यपालिकाको कार्यालय तथा अत्यावश्यक सेवाबाहेक मातहतका सबै वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरूमा शोकबिदा दिने उपमहानगरपालिकाले जनाएको छ ।
सामान्य पेट दुखेको कारण दुखाइ कम गर्न उनले प्यान्टोप्राजोल सुई लगाएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । एनाफिलेक्टिक सक (गम्भीर प्रकारको रियाक्सन) भएको कारण उनको निधन भएको उनले जानकारी दिए । शनिबार उनलाई सामान्य पेट दुखेको थियो । गत शनिबार स्कुटीमा गएर उनी आफैंले सो सुई प्रयोग गरेकी थिइन् । औषधिको साइड इफेक्टपछि उनी मुर्छा परेको र धरानस्थित बीपी प्रतिष्ठानमा उपचारका क्रममा उनको निधन भएको हो । ‘बिरामी नभएको मान्छेको अचानक निधनको खबरले अत्यन्तै दुःखी छौं’, स्वास्थ्य महाशाखा प्रमुख मेहताले भने । स्वास्थ्य प्रमुख मेहताले कुन सुईले कसलाई रियाक्सन गर्छ थाहा नहुने हुनाले सकभर सुईँ लगाउनुपरे ‘ड्रग्स सेन्सिभिटी टेष्ट’ अनिवार्य गर्न उनले सुझाएका छन् । साथै चिकित्सकको सल्लाहबिना कुनै पनि सुई प्रयोग गर्न नहुने उनले बताए ।
संयोग पनि त्यस्तै परेको छ । २०५२ साल भदौ १ गते जन्मिएकी उनको भदौ १ गते नै निधन भएको हो ।
प्यान्टोप्राजोल प्रोटोन पम्प इन्हिबिटर भनेर चिनिने औषधिहरूको वर्गसँग सम्बन्धित औषधि हो । यो मुख्यतया अत्याधिक पेट एसिड उत्पादनसँग सम्बन्धित अवस्थाहरूको उपचार गर्न प्रयोग गरिन्छ, पेटमा उत्पादन हुने एसिडको मात्रा घटाएर, प्यान्टोप्राजोलले छाती पोल्ने, निल्न गाह्रो हुने र लगातार खोकी लाग्ने जस्ता लक्षणहरूलाई कम गर्न मद्दत गर्छ ।
