धरानः धरानबाट धनकुटा जाँदै गरेको मोटरसाइकलमा सवार युवाको साथबाट लागूऔषध भेटेपछि दुईजना पक्राउ परेका छन् ।
धरानबाट धनकुटातर्फ जाँदै गरेको प्रदेश नं. १–०२–०४४ प ३५८ नम्बरको मोटरसाइकललाई शंकाका आधारमा प्रहरी चौकी मूलघाटबाट खटिएको टोलीले चेकजाँच गर्दा लागूऔषध फेला पारेको थियो ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रका अनुसार जाँचका क्रममा मोटरसाइकल चालक धनकुटा–५, बालमन्दिरका २४ वर्षीय मनकुमार राई र मोटरसाइकलको पछाडि सवार सोही स्थानका २० वर्षीय विजय राईलाई पक्राउ गरिएको छ ।
प्रहरीका अनुसार विजय राईले बोकेको निलो झोलाबाट ट्रामाडोल हाइड्रोक्लोराइड ५० मिलिग्रामका २२ पत्ता अर्थात् २ सय २० क्याप्सुल, डाइसाइक्लोमिन हाइड्रोक्लोराइड २० मिलिग्रामका २० पत्ता अर्थात् २ सय ट्याब्लेट तथा स्पास्पेन नामक औषधिका २ पत्ता अर्थात् १९ क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ ।