धरान: युएन कलेज धरानमा सञ्चालित ब्याचलर इन होटल म्यानेजमेन्ट (बीएचएम) प्रथम सेमेस्टरको भर्ना खुलेको एकै दिनमा सबै सिट भरिएपछि भर्ना प्रक्रिया बन्द गरिएको छ।
कलेजले आइतबार नयाँ विद्यार्थी छनोटका लागि अन्तर्वार्ता तथा समूहगत छलफल सम्पन्न गरेको थियो। छनोटमा सहभागी विद्यार्थीका लागि सोमबार बिहान ७ बजेदेखि साँझ ४ बजेसम्म भर्ना खुला गरिएको थियो। तर, विद्यार्थी तथा अभिभावकको उत्साहजनक सहभागिताका कारण निर्धारित सिट एकै दिनमै भरिएको कलेजले जनाएको छ।
पूर्वाञ्चल क्षेत्रमा होटल व्यवस्थापन शिक्षाको अग्रणी संस्थाका रूपमा स्थापित युएन कलेजले स्थापनादेखि नै गुणस्तरीय, व्यावहारिक र रोजगारमुखी शिक्षा प्रदान गर्दै आएको छ। कलेजका विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालयअन्तर्गतका परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै दोस्रो तथा तेस्रो स्थानसमेत प्राप्त गर्दै आएका छन्।
क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोका अनुसार उत्कृष्ट शैक्षिक नतिजा, आधुनिक प्रयोगात्मक शिक्षण प्रणाली, अनुभवी तथा दक्ष प्राध्यापक, अन्तर्राष्ट्रियस्तरको इन्टर्नसिप अवसर र उत्कृष्ट शैक्षिक वातावरणका कारण बीएचएमप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको छ।
बीएचएम कार्यक्रम संयोजक गगन श्रेष्ठले युएन कलेजका विद्यार्थी नेपाल तथा विदेशका विभिन्न तारे होटलमा इन्टर्नसिप तथा रोजगारीमा आबद्ध रहेको बताए। उनका अनुसार कलेजका धेरै पूर्वविद्यार्थी सफल उद्यमी बनेर आफ्नै होटल तथा रेस्टुरेन्ट सञ्चालन गरिरहेका छन्।
कलेजका अध्यक्ष ज्ञानेश्वर झाले समयको मागअनुसार योग्य, दक्ष र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्नु संस्थाको मुख्य उद्देश्य रहेको बताए। उनले आगामी दिनमा पनि गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा प्रदान गर्न कलेज प्रतिबद्ध रहने बताए।
बीएचएमका सम्पूर्ण सिट एकै दिनमा भरिनु विद्यार्थी तथा अभिभावकको युएन कलेजप्रतिको बढ्दो विश्वास, शैक्षिक गुणस्तर र होटल व्यवस्थापन शिक्षामा स्थापित पहिचानको प्रमाण भएको क्याम्पस प्रमुख तुम्बापोले बताए।