Hamro Koshi Aawaj

शुक्रबार, भाद्र ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको स्वामीचोकमा घरबाटै समातिए युवा, ठूलो परिमाणमा लागूऔषधसहित अन्य पनि पक्राउ

हाम्रो कोशी आवाज
भाद्र ३ २०८३, बुधबार
धरानको स्वामीचोकमा घरबाटै समातिए युवा, ठूलो परिमाणमा लागूऔषधसहित अन्य पनि पक्राउ

धरानः धरानको स्वामीचोकबाट लागूऔषधसहित एकजना पक्राउ परेका छन् ।
धरान उपमहानगरपालिका वडा नं. १६ स्वामीचोकमा लागूऔषध कारोबार भइरहेको छ भन्ने प्राप्त सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धराननबाट खटिएको प्रहरी टोलीले धरान–१६ कै २१ वर्षीय विदुर कार्कीलाई पक्राउ गरेको डिएसपी भीषणबाबु राईले जानकारी दिए ।
घर कोठा खानतलासी तथा चेकजाँच गर्दा निजको कोठाबाट स्पासपन ४२८ ट्याब्लेट र ट्रामोल पाँच सय ४८ पिस क्याप्सुल फेला परेको उनले जानकारी दिए । लागूऔषधसहित समातिएका उनलाई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, सुनसरीको इटहरी उपमहानगरपालिका–८ स्थित बिजुली अफिस नजिकबाट खैरो हेरोइन तथा प्रतिबन्धित औषधीसहित चारजना पक्राउ परेका छन् ।
लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीआइटी, इलाका प्रहरी कार्यालय इटहरी तथा अस्थायी प्रहरी बिट पूर्वी गैसारको संयुक्त टोलीले छापा मार्दा चार जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा मोरङ पथरी शनिश्चरे नगरपालिका–५ घर भई हाल इटहरी–५ जनता बस्तीमा बस्दै आएका २६ वर्षीय निकेश माझी, इटहरी–८ फूलबारी टोलका २२ वर्षीय युवराज विक (ज्याक), मोरङ केरावारी गाउँपालिका–१ घर भई हाल इटहरी–८ गैसारमा बस्दै आएका २१ वर्षीय रेजन विश्वकर्मा तथा झापाको अर्जुनधारा नगरपालिका–८ घर भई हाल इटहरी–८ गैसारमा बस्दै आएका २१ वर्षीय सन्देश राउत रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल ९४१ चक्की र डाइसाइक्लोमिन एचसीएल २० एमजीका १ हजार २३० चक्की बरामद गरेको छ । यससँगै कुल २ हजार १७१ चक्की प्रतिबन्धित औषधि फेला परेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, प्लास्टिकसहित १.३९ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ तथा प्लास्टिक बाहेक ६०० मिलिग्राम लागूऔषध बरामद गरिएको छ । प्रहरीले घटनास्थलबाट विभिन्न कम्पनीका ५ थान एन्ड्रोइड मोबाइल, बजाज कम्पनीको १५० सीसी मोटरसाइकल (नम्बर ३६ प ५५४७) र नगद ५३ हजार २१० रुपैयाँ समेत बरामद गरेको छ ।
पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: भाद्र ३ २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend