Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ सम्मानित, संगीतमा झुम्यो धरान

हाम्रो कोशी आवाज
भाद्र ६ २०८३, शनिबार
धरानका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ सम्मानित, संगीतमा झुम्यो धरान

धरानः धरानमा वरिष्ठ हाँस्यकलाकार तथा गायक मदनकृष्ण श्रेष्ठलाई सम्मान गरिएको छ । पासा खल धरानले आयोजना गरेको ‘इकोस अफ हेरिटेज’ नाम दिइएको सांगीतिक कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।
लामो समयदेखिको कला, संगीत तथा नेपाली सांस्कृतिक क्षेत्रमा पुरयाएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभामुख अमरबहादुर विष्ट, प्रदेशकी सांसद् यशोदा कायस्थलगायतले उनलाई सम्मान गरे । कार्यक्रममा सामाजिक क्षेत्रमा योगदान गरेको भन्दै समाजसेवी सरला कायस्थलाई समेत सम्मान गरिएको थियो ।
सम्मानपछि भानुचोकमा आयोजित कार्यक्रममा उनले आफ्ना चर्चित गीतहरू पनि गाए । उनले ‘सय थरी बाजा एउटै ताल’, ‘अरबौं मान्छेहरूमा’ लगायतका चर्चित गीत पस्किए । श्रेष्ठका छोरा यमनकृष्ण श्रेष्ठले समेत कार्यक्रममा सांगीतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा चर्चित ब्यान्ड कुटुम्ब र गायिका सलिना विश्वकर्माको प्रस्तुतिले माहौल संगीतमय बनेको थियो ।
मौलिक बाजा, संस्कार र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तालाई मौलिक वाद्यवादनतर्फ आकर्षित गर्ने उद्देश्यले धरानमा ‘कुटुम्ब ब्याण्ड’ र पासा खलःबीच सांगीतिक सहकार्य भएको थियो । आयोजकका अनुसार काठमाडौंबाहिर कुटुम्ब ब्याण्डसँग पासा खलःको यो पहिलो सांगीतिक सहकार्य हो ।
पासा खलःका महासचिव अमृत श्रेष्ठले नेपालका मौलिक वाद्यवादनलाई देश तथा विदेशका विभिन्न सहरमा प्रस्तुत गर्दै आएको कुटुम्ब ब्याण्डसँग नेवारी मौलिक बाजासहित सहकार्य गरिएको बताए ।
कार्यक्रममा पूर्वका पाँच जिल्लाबाट धिमे तथा अन्य मौलिक वाद्यवादनसँग सम्बन्धित कलाकार सहभागी भएको आयोजकले जनाएको छ । पासा खलःका अनुसार कार्यक्रममार्फत लोप हुँदै गएका मौलिक बाजा तथा सांस्कृतिक परम्पराबारे जागरण फैलाउने, संरक्षण र प्रवद्र्धन गर्ने तथा मौलिक वाद्यवादनलाई व्यावसायिकरूपमा अघि बढाउने सम्भावनाको खोजी गरिएको हो ।

प्रकाशित मिति: भाद्र ६ २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend