धरानः धरानमा सुनसरी जिल्ला अदालतले दोषी ठहर गरी कैद तथा जरिवाना भुक्तानी गर्न बाँकी रहेका र भाग्दै, लुक्दै आएका ६ जना फरार प्रतिवादीलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–५ का विक्सन परियार रहेका छन् । उनीमाथि अभद्र व्यवहारसम्बन्धी दुई छुट्टाछुट्टै मुद्दामा फैसला भएको थियो । एउटा मुद्दामा ६५ दिन कैद र ८ हजार रुपैयाँ जरिवाना तथा अर्को मुद्दामा ४० दिन कैद र ७ हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, धरान–५ कै नारायण अधिकारी अभद्र व्यवहार मुद्दामा १५० दिन कैद सजाय तोकिएका फरार प्रतिवादी हुन् । धरान–५ का गणेश लावती सवारी अंगभंग मुद्दामा २ हजार ५ सय रुपैयाँ जरिवाना, धरान–८ का सुवास लिम्बू लागूऔषध मुद्दामा ८ सय ५० रुपैयाँ जरिवाना तथा धरान–१८ का दिलकुमार लिम्बू चेक अनादर मुद्दामा ५ सय रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेको अवस्थामा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहतका प्रहरी इकाईबाट खटिएको टोलीले अदालतको फैसला कार्यान्वयनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले अदालतबाट भएका फैसला कार्यान्वयन गरी न्यायिक कारबाहीलाई पूर्णता दिन तथा सुरक्षित र न्यायपूर्ण समाज निर्माण गर्ने उद्देश्यका साथ फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिइएको जनाएको छ।