Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको विष्णु स्कुलमा ट्राफिक सचेतना कक्षा, छात्रछात्राले गरे प्रश्न

हाम्रो कोशी आवाज
भाद्र १८ २०८३, बिहिबार
धरानको विष्णु स्कुलमा ट्राफिक सचेतना कक्षा, छात्रछात्राले गरे प्रश्न

धरानः धरान–९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयमा ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कक्षा सञ्चालन भएको छ ।
कक्षा–६ देखि १० कक्षासम्म पढ्ने विद्यार्थीलाई ट्राफिक नियमसम्बन्धी जनचेतना कक्षा सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरान सुनसरीका प्रहरी सहायक निरीक्षक (सई) नारदप्रसाद दाहालले जानकारी दिए । विशेषगरी स्कुल, कलेज पढ्ने विद्यार्थीहरू र अभिभावकहरूलाई ट्राफिक नियमको पालनाबारे जानकारी दिँदा प्रभावकारी हुने ठानेर यस्तो कक्षा सञ्चालन गरिएको उनले जानकारी दिए ।
सई दाहालले विद्यार्थीहरूलाई प्रशिक्षण दिएका थिए । प्रहरी सहायक निरीक्षक दाहालले विद्यार्थीहरुलाई ट्राफिक चिह्न, दुर्घटनाका कारण र न्यूनीकरणका उपायबारे जानकारी दिएका थिए । यस्ता खालका जनचेतनामूलक कार्यक्रम विगतदेखि गरिँदै आएको र आगामी दिनमा पनि राखिने स्कुलका प्रिन्सिपल निलमकुमार श्रेष्ठले जानकारी दिए । ट्राफिक नियमसम्बन्धी जानकारी दिन र सबैले ट्राफिक सम्बन्धी जानकारी पाउन भन्ने उद्देश्यले आफूहरूले यस्तो सचेतना कार्यक्रम आयोजना गरिएको उनले बताए । सचेतना कक्षामा बाटोमा हिँड्दा र बाटो काट्दा ध्यान पुरयाउनुपर्ने कुरा एवं सडक सुरक्षा, ट्राफिक नियमसम्बन्धी सबै जानकारी दिइएको थियो ।
सो क्रममा उनले सूचनामूलक चेतावनीमूलक र आदेशमूलक ट्राफिक चिहनहरु विद्यार्थीलाई चिनाएका थिए । कार्यक्रममा उपस्थित विद्यार्थीहरुले कार्यक्रमबाट ट्राफिक नियमबारे धेरै कुरा जान्न पाएको प्रतिक्रिया दिए । सई दाहालले विद्यार्थी अति नै उत्सुक हुने र उनीहरुको माध्यमबाट अभिभावक, टोल र समाज पूरैलाई सिकाउन सकिने भएकोले विद्यालय केन्द्रित कार्यक्रम गरिएको बताए । ‘विद्यार्थी समाजको वास्तविक प्रतिनिधि हुन्’, उनले भने, ‘उनीहरूमार्फत् समाजलाई धेरै कुरा सिकाउन सकिन्छ ।’
स्कुलका सहायक प्रिन्सिपल कृष्णप्रसाद पौडेलले ट्राफिक सचेतना कार्यक्रम विद्यालयमा निकै उपलब्धीमूलक भएको बताए । ‘विगतमा पनि ट्राफिक प्रहरीले गरेका कार्यक्रम उपलब्धीमूलक थिए’, उनले भने, ‘विद्यालयमा सिकेको भन्दा ट्राफिक आफै उपस्थित भएर सिकाएको सिकाइ बढी उपयोगी देखिएका छन् ।’
विद्यार्थीले गरे प्रश्न
कार्यक्रममा विद्यार्थीले गम्भीर प्रश्न पनि उठाएका थिए । कक्षा–१० की इभाग्रेस मास्केले सडक दुर्घटनाका घाइतेलाई देख्दादेख्दै पनि मानिसहरू तत्काल अस्पताल पुरयाउन वा मद्दत गर्न किन हिचकिचाउँछन् भन्दै प्रश्न गरिन् भने कक्षा–१० का रेसव अधिकारीले चर्को आवाजमा सवारी चलाउनेलाई कस्तो कारवाही भइरहेका छन् भनेर प्रश्न गरेका थिए । कक्षा–१० कै अयन गड्तौला, बरदान तामाङ, कक्षा–९ की नन्दनी दासले पनि ट्राफिक नियमबारे प्रश्न गरेका थिए ।
विद्यार्थीको जिज्ञासा र प्रश्नको जवाफ दिँदै सई दाहालले हो–हल्ला गर्दै चर्को आवाजमा ध्वनी प्रदुषण गर्दै साइलेन्सर पाइपबाट चर्को आवाज निकाल्ने मोटरसाइकलहरू तपाइहरुको वडा एरियामा चलाएको देखेमा मोटरसाइकल नम्बर ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३ र नेपाल प्रहरीको १०० नम्बर मा जानकारी गराइदिनु आग्रह समेत दिए । जानकारी दिनेको नाम गोप्य राखिने बताउँदै त्यस्ता सवारी साधनका धनीलाई कारवाही गरिने पनि उनले बताए ।
महाशाखाले मोटरसाइकलहरुले ध्वनी प्रदुषण हुने गरी सहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने, स्वरुप परिवर्तन गरी चलाउने, लापरबाही ढङ्गले चलाउने, जिकज्याकरुपमा चलाउने कार्यहरु कानुनविपरीत रहेको र त्यस्ता सवारीधनीलाई जरिवाना समेत तिराउने गरेको बताए । त्यस्ता मोटरसाइकलका कारण दुर्घटना निम्तिनुका साथै सर्वसाधरणमा अनावश्यक आवाजका कारण आतंकित तुल्याउने भएकाले रोक लगाइएको बताए । जथाभावीरुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकलहरुलाई अहिले धरानमा कडाइ गरिएको उनले बताए । ती बाइकहरू तीब्र गतिमा कुदाइने र त्यसमा ठूलो आवाज र ध्वनीका कारण कतिपय फरक क्षमता (अपाङ्ग), असशक्त तथा बिरामीहरु, मुटुका बिरामी तथा कमजोर मुटु भएका मानिसहरु तर्सिने गरेका छन् ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा सवारी साधनको स्वरुप परिवर्तन गरी सवारी साधन चलाउँदा हजारदेखि पन्ध्र हजारसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।
दुर्घटनामा घाइते देख्दादेख्दै किन अस्पताल लैजान हिचकिचाउँछन् ?
नेपालमा सडक दुर्घटनाका घाइतेलाई देख्दादेख्दै पनि मानिसहरू तत्काल अस्पताल पुरयाउन वा मद्दत गर्न हिचकिचाउनुका मुख्य कारणहरूमध्ये कानुनी र प्रहरी झन्झटको डरदोषी ठहरिने डरले पनि यस्तो भएको हुनसक्ने सई दाहालले जानकारी दिए । उनले सर्वसाधारणले टुलुटुलु नहेरी नागरिकले अस्पतालसम्म पुरयाए घाइतेको ज्यान बच्न सक्ने बताए । ‘हामी नागरिकहरू सडक दुर्घटना भएको देख्यौं भने तत्काल सबै ठाउँमा प्रहरी त नहुनसक्छ त्यसैले यस्तो बेलामा भिडियो खिच्ने र बसिरहने भन्दा पनि तत्कालै उठाएर अस्पताल पुरयाउन सकियो भने एउटा नागरिकको ज्यान बच्न सक्छ, त्यसैले यस्तो काममा कोहीले पनि नहिचकिचाऔं ।’
घाइतेलाई अस्पताल लैजाँदा प्रहरीले उल्टै उसैलाई ठक्कर दिएको आशंकामा पक्राउ गर्ने वा सोधपुछका नाममा दुःख दिने डर, अदालती प्रक्रिया, अस्पताल भर्ना गरेपछि अस्पतालले सुरुमै रकम (डिपोजिट) माग्ने र उक्त खर्च उपचार सुरु गराउने व्यक्तिले नै बेहोर्नुपर्ने डर, चेतना र प्राथमिक उपचारको कमी, असुरक्षित उद्धारको डर, बाटोमै मृत्यु भएमा आफूमाथि दोष आउने डर आदि कारणले नागरिकले दुर्घटनाका घाइतेलाई अस्पतालसम्म नलगेको अवस्था छ ।

 

 

 

प्रकाशित मिति: भाद्र १८ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend