धरानः धरानमा लागूऔषध खैरोहिरोइन (ब्राउन सुगर) सहित एकजना पक्राउ परेका छन् ।
धरान उपमहानगरपालिका वडा नं. ५ देउरालीस्थित फोकल्याण्ड टापुमा रहेको घरबाट ३१ वर्षीय मनिराज भुजेल पक्राउ परेका हुन् । घरकोठा खानतलासी तथा चेकजाँच गर्दा लुकाइछिपाइ राखेको अवस्थामा लागूऔषध ब्राउन सुगर ४.९१ मिलीग्राम फेला परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईले जानकारी दिए ।
कोशी प्रदेश इलाका प्रहरी कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी धरान देउरालीसहितको संयुक्तरुपमा खटेको प्रहरी टोलीले सो लागूऔषध भेटेको हो । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालयले थप अनुसन्धान गरिरहेको डिएसपी राईले जानकारी दिए ।