धरानः धरान-१२ स्थित धरान मेघा हिमालयन कलेजको हस्पिटालिटी म्यानेजमेन्ट विभागअन्तर्गत डिप्लोमा इन होटल म्यानेजमेन्ट अध्ययन पूरा गरेका विद्यार्थीहरूले बिहीबार नेवारी समुदायमा प्रचलित मौलिक तथा परम्परागत खानाका परिकारलाई केन्द्रमा राखेर ‘थिम बेस्ड प्राक्टिकल’ गरेका छन् ।
विद्यार्थीहरूले नेवारी समुदायका विभिन्न मौलिक परिकार तयार गर्नुका साथै तिनको प्रस्तुति, सजावट र सेवामार्फत् नेपाली मौलिक खानाको संस्कृति तथा परम्परालाई उजागर गरेका थिए । कलेजको रेस्टुरेन्टमा आयोजित कार्यक्रममा विद्यार्थीका अभिभावकहरूलाई समेत निमन्त्रणा गरिएको थियो ।
कार्यक्रममा अभिभावकहरूले आफ्ना छोराछोरीले तयार गरेका विभिन्न नेवारी परिकारको स्वाद लिनुका साथै उनीहरूको व्यावहारिक ज्ञान, सीप, सिर्जनशीलता र प्रस्तुतिको प्रत्यक्ष अवलोकन गर्ने अवसर पाएका थिए। विद्यार्थीहरूले अभिभावक तथा शिक्षकहरूलाई आफूले तयार गरेका परिकार आफैं सर्भ गरेका थिए ।
कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर स्मारिका दाहालका अनुसार कार्यक्रमले विद्यार्थीहरूलाई कक्षाकोठामा हासिल गरेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्दै खाना उत्पादन, प्रस्तुति, सेवा, आतिथ्यता तथा कार्यक्रम व्यवस्थापनसम्बन्धी व्यावहारिक सीप विकास गर्न महत्वपूर्ण योगदान पुरयाएको छ । दाहालले नेपाली मौलिक खानाको संरक्षण तथा प्रवद्र्धन गर्दै नयाँ पुस्तामाझ यसको महत्व स्थापित गर्नसमेत कार्यक्रम प्रभावकारी बनेको बताए ।
कलेजका अध्यक्ष राजेश विद्रोहीले डिएचएम अध्ययन पूरा गरेका विद्यार्थीहरूलाई स्वदेश तथा विदेशका ठूला स्टार होटलहरूमा इन्टर्नसिपका लागि पठाउने तयारी गरिएको जानकारी दिए । कलेजमा हाउसकिपिङ, फ्रन्ट अफिस, किचेन प्राक्टिकललगायतका विषयमा सिकेका सीपलाई ठूला होटलमा इन्टर्नसीपमार्फत् प्रत्यक्षरूपमा अभ्यास गर्ने अवसर विद्यार्थीहरूले पाउने उनले बताए ।
‘सैद्धान्तिक ज्ञान लिएर मात्रै हुँदैन, त्यसलाई व्यवहारमा उतार्नुपर्छ,” अध्यक्ष विद्रोहीले भने, ‘ठूला होटलमा इन्टर्नसीप गर्दा विद्यार्थीहरूले वास्तविक कार्यस्थलको वातावरण बुझ्दै कामको प्रत्यक्ष अनुभव र व्यावहारिक सीप हासिल गर्न सक्छन् ।’