धरानः धरानमा थाइल्याण्डको गाँजा फेला परेको छ । थाइल्याण्डको गाँजा ९१० ग्राम बरामद भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईले जानकारी दिए । हुलाकको पार्सलमार्फत् नेपाल ल्याइएको थाइल्याण्डको गाँजासहित एक किशोरी र युवतीसहित चारजना पक्राउ परेको उनले जानकारी दिए ।
शुरुमा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय डिल्ली बजारबाट खटिएको प्रहरीले टोलीले गत भदौ ९ गते थाइल्याण्डको गोश्वारा हुलाक कार्यालय डिल्ली बजार हुँदै इटहरी जाने पार्सल शंका लागेर चेकजाँच गर्दा पार्सलबाट थाइल्याण्डको ९१० ग्राम गाँजा बरामद भएको थियो । पार्सल रिसिभ गर्ने इटहरी बस्ने मुख्य व्यक्ति पक्राउ गर्न कन्ट्रोल डेलिभरी गरी पठाइएको र गत भदौ १६ गते पार्सल रिसिभ गरी ल्याउने क्रममा धरान–२० बस्ने १९ वर्षीय जेसिका तामाङ र धनकुटा छथर जोरपाटी २ की २५ वर्षीय तारा मगरलाई प्रहरीले पक्राउ गरेको थियो ।
उनीहरू बसेको धरान–१५ मिलन पथस्थित डेरामा खानतलासी गर्दा थप १ किलो थाई गाँजा फेला परेको प्रहरीले जनाएको छ । बरामद गाँजा र पक्राउ परेका दुवै महिलालाई इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको थियो । अनुसन्धानकै क्रममा सो गाँजा लिन आएका भारतीय नागरिकहरूलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले भदौ १९ गते धरान–८ बाट भारत केरलका २४ वर्षीय सारोन सुनिल तिया र २२ वर्षीय अमल आरलाई पक्राउ गरेको हो ।
उनीहरूबाट गाँजा १ किलो ९१० ग्राम र चार थान मोबाइल समेत बरामद भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी राईले जानकारी दिए ।