Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रधानमन्त्री बालेनलाई हिँडेर बेत्रावती पुग्नुपर्छ भन्ने साम्पाङ आफैं अलमलमा

हाम्रो कोशी आवाज
भाद्र २० २०८३, शनिबार
प्रधानमन्त्री बालेनलाई हिँडेर बेत्रावती पुग्नुपर्छ भन्ने साम्पाङ आफैं अलमलमा

अध्यक्ष हर्क साम्पाङ ढिलोगरी ११ दिनपछि प्रलयकारी बाढी प्रभावित क्षेत्रको निरीक्षण, आफैं तर्सिए

धरानः श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् सांसद् हर्क साम्पाङ भोटेकोशीमा आएको प्रलयकारी बाढीबाट प्रभावित क्षेत्रको अवलोकन भ्रमणमा पुगेका छन् ।
अध्यक्ष साम्पाङ भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न तथा राहत र उद्धार कार्यको अनुगमन गर्न त्यहाँ पुगेका हुन् । बाढी गएको ११ दिनपछि अध्यक्ष साम्पाङ प्रभावित क्षेत्रमा पुगेर त्यहाँको वस्तुस्थिति अवलोकन गरेका छन् । अध्यक्ष साम्पाङसँगै खोटाङबाट निर्वाचित सांसद् आरेन राई, कार्यकर्तासँगै पत्रकारलगायतको टोली पनि उनीसँगै सहभागी छन् ।
शुक्रबार रसुवा जान्छु भनेर हिँडेका साम्पाङ शनिबार नुवाकोट र रसुवाको सीमानामा पर्ने बेत्रावती बजारमा समेत पुगेर त्यहाँकोे वस्तुस्थिति बुझेका छन् । स्थलगत अवलोकन गरी पीडितहरूको अवस्था समेत उनले बुझेका छन् । उनले त्यहाँका बाढी प्रभावित स्थानीयलाई भेटेर राहत समेत प्रदान गर्ने कार्यक्रम छ । उनले त्यहाँका पीडित जनतालाई पुनस्थापना र पुनबार्सका लागि पहल गर्ने समेत बताएका छन् । उनले पीडितहरूको गुनासो सुनेर धैर्य गर्न आग्रह गर्दै पार्टीका कार्यकर्ताहरूलाई व्यवस्थित ढंगले राहत वितरण र पुनस्र्थापनामा जुट्न निर्देशन दिए ।
श्रम संस्कृति पार्टीले १५ लाख रुपैयाँ पार्टीको ‘फन्ड’ बाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा सिधै पठाउने र अन्य क्युआरमार्फत् लिइएको रकमले त्यहाँका जनताको आवश्यकताअनुसार वितरण गर्ने नीति लिएको छ । सरकारी कोषमा रकम जम्मा गर्दा प्रक्रियागत ढिलाइ हुन सक्ने भन्दै साम्पाङले सिधै पीडितसम्म पुग्ने गरी यो रकम परिचालन गर्ने निर्णय गर्नुपर्छ भनेपछि पार्टीले नै सो नीति अख्तियार गरेको हो । धरानमा बसेको केन्द्रीय समितिले सोबारे निर्णय गरिसकेको छ ।

ढिलोगरी ११ दिनपछि पुगे
ढिलोगरी भएपनि ११ दिनपछि उनी बाढी प्रभावित क्षेत्र नुवाकोट र रसुवाको सीमानामा पर्ने बेत्रावती पुगेका हुन् । खदा, माला लगाउँदै पूर्वका विभिन्न जिल्ला साथै पश्चिमको नेपालगञ्जमा संगठन र पार्टी विस्तार गर्न व्यस्त रहेको भन्दै चौतर्फी चर्को आलोचना खेपेका अध्यक्ष साम्पाङ त्यहाँ पुगेका हुन् । पार्टी पार्टी भन्दै हिँडिरहेको र क्युआरमा पैसा नआएको हुनाले बाढी प्रभावित क्षेत्रमा श्रमदान हुन नसकेको भन्दै चर्को आलोचना समेत भइरहँदा उनी बल्ल यतिबेला त्यहाँ पुगेका हुन् ।
सामाजिक सञ्जालमा अधिकांशले लेख्दै आएका थिए–यो मान्छेलाई भोटेकोशी बिनाशकारी बाढीले छोएकै छैन, १ हजार बढीको मृत्यु भइसक्यो, हजारौं सम्पर्कविहीन भएका छन्, हजारौं घरबारबिहीन भएको बेला, देश महाबिपत्तिको बेला साङपाङलाई पार्टी बिस्तार र बैठकमा छ ब्यस्त छन् । मतलव साङपाङलाई उसको पार्टी प्यारो भयो । अब आफै बुझ्नुस साम्पाङ देश र जनताप्रति कति संवेदनशील छन् भनेर ।
वस्तुस्थिति बुझेपछि फरक पाए
साम्पाङले त्यहाँ पुगेर वस्तुस्थिति बुझ्दै बर्बाद स्थिति रहेको सुनाएका छन् । फेसबुकमा लाइभ बस्दै उनले भनेका छन्– बर्बाद स्थिति छ, सुत्ने ठाउँ पनि छैन, खानाको नाममा चाउचाउ, चिउरा र दालमोठ खाँदैछौं ।
उनले फेसबुकमा समेत लेखेका छन्– सबैतिर बाटो क्षतविक्षत अवस्थामा भएको कारण वारीपारी जान सक्ने स्थिति छैन । रसुवाको बेत्रावतीदेखि धुन्छेसम्मको यात्रा जारी छ है, पारिपट्टी बेत्रावतीको एउटा घरदेखि एक व्यक्तिको उद्दार गरिएको छ, सुरक्षाकर्मीको ठूलो संख्या परिचालन गर्नु परो सरकारले ।
प्रधानमन्त्री बालेनलाई हिँडेर बेत्रावती पुग्नुपर्छ भन्ने साम्पाङ आफैं आफैं तर्सिए, परे अलमलमा
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई हिँडेर बेत्रावती पुग्नुपर्छ भन्ने साम्पाङ आफैं अलमलमा पर्दै तर्सिएको समेत पाइएको छ । धरान आएका बेला हाम्रो कोशी आवाजसँगको कुराकानीमा केहीदिनअघि प्रश्न गरेका थिए– प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपाका सभापति रवि लामिछाने बेत्रावती, स्याप्रुबेसी र सुरुङ भएको ठाउँमा पुग्नुभयो ? त्यसपछि प्रधानमन्त्री बालेनलाई इङगित गर्दै उनले भनेका थिए– उहाँ हिँड्दै जानुपर्छ, प्रधानमन्त्री हो नि त ।
तर जब उनी स्वयं घटनास्थलमा पुगे, वस्तुस्थिति फरक पाए । भौगोलिक वनावट आदिले उनले सोचेजस्तै भइरहेको छैन । पहाडैपहाडैले भरिएको सो ठाउँमा बाटो समेत बगाएको अवस्था छ ।
यसअघि सांसद्, मन्त्रीहरू पनि हेलिकोप्टरमा गएको भन्दै चर्को आलोचना समेत गर्दै आएका उनी अहिले स्वयं आफैं हेलिकोप्टर खोज्ने अवस्थामा पुगेका छन् । अनि तपाई यहाँसम्म मात्रै हो कि रसुवाको हाइड्रोपावर क्षेत्र (सुरुङ) भएको क्षेत्रसम्मै जाने हो भन्ने प्रश्नमा उनले भने, ‘मचाहिँ त्यो सुरुङ भएको स्थानसम्म पुगौं भनेको, त्यहाँ त जानै नमिल्ने रहेछ, बाटो यस्तो रहेछ, हेलिकोप्टर नै चाहिने रहेछ, फेरि हामी उद्दारकर्ताको रुपमा आएको कता हेलिकोप्टर खोजी हिँड्दा त राम्रो पनि देखिएन, त्यसै त जनप्रतिनिधिको निन्दा भइरहेको छ, बिरामी बोक्न छाडेर हेलिकोप्टरमा चढ्यो, मन्त्री सांसद् भनेर मैले नै पनि भनिरहेको छु, त्यही भएर हेलिकोप्टरको व्यवस्था गर्न सकिँदैन नै, अरु जिल्लाबाट घुमेर जाऊँ भनेको त्यो पनि नसकिने रहेछ, अहिले आएर बडो अलमलमा परिरहेको छु ।’

साम्पाङ पुगेपछि राम्रो पक्ष, गराए ध्यानाकर्षण
साम्पाङ ब्रेत्रावती पुगेर फेसबुकमै लेखेरै भएपनि सरकारको ध्यानाकर्षण भने गराइरहेका छन् । अहिले फिल्डमै छु । सरकारले भने जस्तो सुरक्षाकर्मी उद्दार टोली परिचालन गरिएको छैन । बेत्रावती क्षेत्रमा घरहरुबाट जीवन निकाल्ने कार्य तीब्र गरियोस् । आज म बेत्रावती पुग्नु । एक व्यक्तिको जीवित उद्दार गरिनु । संयोग हुन सक्छ तर मैले सरकारलाई ध्यानाकर्षण गराउन चाहेकोछु । सबैतिरको प्रहरी बाढीग्रस्त क्षेत्रमा केन्द्रित गर्नु ।
अर्को स्टाटस थप्दै उनले भनेका छन्-
सुरक्षाकर्मीको संख्या बढाऊ है सरकार । चाँडो गर छिटो छिटो गर । बेत्रवतीमा जम्मा १० जना सशस्त्र प्रहरी राखिएको रैछ । आज जीवितै उद्दार गर्ने टोलीमा जम्मा १० जना मात्रै रैछ । कमसेकम १०० जना भएको भए १० गुणा छिटो उद्दार हुनेथ्यो ।
बेत्रावतीमा बाढीको कहरः उजाड बस्तीमा सन्नाटा
साम्पाङ त्यहाँ पुग्दा उजाड वस्ती देखे । अहिले पनि उनी त्यही केन्द्रित छन् । विनाशकारी बाढीले पानीको बहाव घटेसँगै छाडेको भयावह दृश्य थप स्पष्ट हुँदै गएको छ । बाढीमा ज्यान गुमाएकाहरूको शव उठाएर अन्तिम संस्कार गर्ने आफन्त र समुदायका सदस्यसमेत नहुँदा यहाँको विपद् मानवीय त्रासदीको चरम अवस्थामा पुगेको त्यहाँ पुगेका पत्रकारहरू बताउँछन् ।
बाढीमा एउटै परिवारका धेरै सदस्यको मृत्यु वा बेपत्ता भएपछि कतिपय घरमा शोक मनाउनेसमेत कोही बाँकी छैनन् । बाँचेकाहरू पनि घरबार गुमाएर सुरक्षित स्थानतर्फ विस्थापित भएका छन् । कुनै समय मानिसको चहलपहलले भरिने बेत्रावती अहिले भत्किएका घर, उजाड बस्ती र शोकाकुल वातावरणले ढाकिएको छ ।
स्थानीयका अनुसार बाढीको भेलले बगाएका केही शव खोलाको किनार, बगर तथा माटोभित्र भेटिन थालेका छन् । तर खोजी, पहिचान र व्यवस्थापनका लागि आवश्यक जनशक्ति तथा आफन्तको अभावले समस्या थप जटिल बनेको छ । कतिपय स्थानमा शव लामो समय व्यवस्थापन हुन नसक्दा दुर्गन्ध फैलिन थालेको स्थानीयको भनाइ छ ।
सामान्य अवस्थामा मृत्यु भएपछि आफन्त, छिमेकी र समुदाय मिलेर अन्तिम संस्कार गर्ने बेत्रावतीको सामाजिक परम्परामाथि नै बाढीले ठूलो चोट पुरयाएको छ । एउटै परिवारका अधिकांश सदस्य गुमेपछि कतिपय शवको पहिचानदेखि अन्तिम संस्कारसम्मको जिम्मेवारी राज्य संयन्त्र र उद्धारमा खटिएका व्यक्तिहरूमाथि आइपरेको छ ।
स्थानीयको पीडा छ–‘धेरैलाई बगायो । बाढीको त्रास अझै हटेको छैन। बस्ने घर छैन। बाँचेकाहरू पनि लाखापाखा लागेका छन् ।’ बाढीले घर तथा भौतिक संरचना मात्र बगाएको छैन, बेत्रावतीको सामाजिक र आर्थिक जीवनसमेत तहसनहस बनाएको छ । घरविहीन परिवार सुरक्षित आश्रयको खोजीमा छन् भने कतिपय घरमा ताल्चा लागेको छ । कतिपय घर पूर्ण रूपमा भत्किएका छन् । बजार तथा स्थानीय आर्थिक गतिविधि पनि प्रभावित भएको छ ।
बाढीको पानी घटे पनि स्थानीयको संकट भने घटेको छैन । आफन्त गुमाएको पीडा, घरबारविहीन अवस्था, पुनः बाढी आउन सक्ने त्रास र भविष्यको अनिश्चितताले बाँचेकाहरूलाई झन् कमजोर बनाएको छ ।
विपद्पछि शवको समयमै खोजी, पहिचान र सम्मानजनक व्यवस्थापनसँगै बेपत्ताको खोजी तथा परिवारसम्म सूचना पुरयाउने कामलाई प्राथमिकता दिनुपर्ने देखिएको छ ।
अब बेत्रावतीमा चुनौती उद्धार र राहतमा मात्र सीमित छैन । विस्थापितलाई सुरक्षित आश्रय, खाद्यान्न तथा स्वास्थ्य सेवा उपलब्ध गराउँदै उनीहरूलाई पुनःस्थापित गर्ने र क्षतिग्रस्त बस्तीलाई सुरक्षित बनाउने दीर्घकालीन अभियान आवश्यक देखिएको छ ।

प्रकाशित मिति: भाद्र २० २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend