धरानः म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, दग्नाम कान्छीगाउँका यामबहादुर तिलिजाको ५८ वर्षपछि पारिवारिक पुनर्मिलन भएको छ।
रोजगारीको खोजीमा २० वर्षको उमेरमा भारतको मणिपुर पुगेका ८१ वर्षीय तिलिजा शनिबार करिब छ दशकपछि जन्मथलो फर्किएका हुन्।
तिलिजा जीवित छन् भन्ने आशासमेत परिवारले गुमाइसकेको थियो। उनको फोटोसमेत परिवारसँग थिएन। खोजी गर्ने माध्यम नभएपछि उनी र परिवारबीचको सम्पर्क पूर्णरूपमा टुटेको थियो।
मणिपुरको जङ्गलमा भेडाबाख्रा चराउँदै गरेको अवस्थामा नेपालीभाषी सञ्चारकर्मी खेम देवानले तिलिजालाई भेटेपछि उनको घर फर्कने बाटो खुलेको हो।
गत साउनमा मणिपुर पुगेका देवानलाई स्थानीय मणि तामाङले जङ्गलमा दुई वृद्ध दयनीय अवस्थामा बसिरहेको जानकारी गराएका थिए।
देवानले तिलिजा र भोजपुरका वीरबहादुर राईको अवस्थाबारे श्रव्यदृश्य सामग्री बनाएर प्रसारण गरेका थिए। उक्त सामग्री सार्वजनिक भएपछि परिवारजनले उनीहरूको पहिचान गरी सम्पर्क गरेका थिए।
‘मणिपुर घुम्न जाने क्रममा जङ्गलमा दुई वृद्ध बसिरहेको जानकारी पाएँ। श्रव्यदृश्य सामग्री बनाएर सार्वजनिक गरेपछि परिवारजन सम्पर्कमा आए’, देवानले भने, ‘राईलाई परिवारको जिम्मा लगाएपछि तिलिजालाई उपचार गराएर घरसम्म ल्याइदिएको हुँ।’
निमोनियाबाट बिरामी तिलिजालाई देवानले धरानस्थित विजयपुर अस्पतालमा चार दिन भर्ना गरी उपचार गराएका थिए। स्वास्थ्यमा सुधार आएपछि परिवारको आग्रहमा उनलाई दग्नाम ल्याइएको हो।
दग्नाम पुगेपछि तिलिजाका तीन भाइ, बुहारी र परिवारका सदस्यले फूलमाला लगाएर उनको स्वागत गरेका थिए। पाँच दशकभन्दा लामो समयपछि दाजुलाई भेटेका भाइहरूले आफूहरूले लामो समयसम्म खोजी गर्न नसकेको विगत सम्झिए।
‘एक दिन दाइसँग भेट अवश्य हुनेछ भन्ने लागेको थियो। अहिले भेट्न पाउँदा निकै खुसी लागेको छ’, तिलिजाका भाइ उदयचन्द्रले भने, ‘दाइको फोटो पनि हामीसँग थिएन। खोजी गर्न नसकेर अलमलमा बसेका थियौँ। उहाँलाई भेटाइदिएर घरसम्म ल्याइदिने देवानलाई धन्यवाद छ।’
तिलिजा चार भाइमध्ये जेठा हुन्। उनका माइला भाइको निधन भइसकेको छ। साइँला उदयचन्द्र, काइँला जगतबहादुर र कान्छा हेमबहादुर दग्नाममै बस्दै आएका छन्।
तिलिजा घरबाट निस्किएपछि लामो समय मणिपुरमै बसे। भारतीय सेनामा भर्ती हुने उद्देश्यले आसाम राइफल्समा कार्यरत आफन्तको साथमा उनी मणिपुर पुगेका थिए। सेनामा भर्ती हुन नसकेपछि उनले काठ काट्ने काम गर्न थाले।
‘परिवार र भाइहरूसँग सम्पर्क टुट्यो। पढाइलेखाइ नभएकाले चिठ्ठीपत्र पठाउन सकिनँ। पैसा नभएपछि घर फर्कन सकिनँ’, तिलिजाले भने।
मणिपुरमै विवाह गरेका तिलिजाकी छोरीको सात महिनामै मृत्यु भएको थियो। त्यसको एक वर्षपछि उनकी श्रीमतीको पनि निधन भयो। लामो समयपछि घर फर्किएका तिलिजाले भने जन्मथलोमा आफ्ना भाइ र आफन्तलाई भेट्न पाएका छन्।
उमेर बढ्दै गएपछि काठ काट्ने काम गर्न नसकेपछि उनले साहुको बाख्रा चराएर जीवन गुजारा गर्दै आएका थिए। ‘परिवारसँग भेट्न पाएँ। जन्मथलोमा फर्किन पाउँदा खुसी लागेको छ’, तिलिजाले भने, ‘बाँकी जीवन भाइ, परिवार र आफन्तजनसँग बिताउँछु।’
रघुगङ्गा गाउँपालिका–४ का वडाध्यक्ष पविन गर्बुजाले ५८ वर्षपछि तिलिजा परिवारमा खुसी फर्किएको बताए। उनका अनुसार तिलिजाको परिवारले लामो समयदेखि उनको खोजी गर्न सकेको थिएन।
पाँच दशकभन्दा लामो समयपछि तिलिजा घर फर्किएसँगै दग्नामको एउटा परिवारले वर्षौंदेखि हराएको सदस्य पुनः पाएको छ।