धरानः धरानमा मोटरसाइकलले सिटी सफारीलाई पछाडिबाट ठक्कर दिई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इटहरी–५ बस्ने ५५ वर्षीय राजेन्द्रप्रसाद घिमिरे रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईले जानकारी दिए ।
धरान उपमहानगरपालिका ८ कोशी लोकमार्गअन्तर्गत गुराँस चोकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को८प ३३३३ नम्बरको १२५ सिसीको होण्डा कम्पनीको मोटरसाइकलले अगाडी आफ्नै साइडमा रोकिराखेको प्रदेश १–०२–००४ ह ३५०४ नम्बरको सिटी सफारीलाई पछाडिबाट ठक्कर दिन पुगेको थियो ।
मंगलबार दिउँसो करिब तीन बजे सो दुर्घटना भएको हो । अनुहारमा चोट, बोल्न नसक्ने गम्भीर घाइते बनेका घिमिरेलाई तत्कालै धरानस्थित बीपी प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो । उपचारका क्रममा राति करिब ९ः४५ उनको मृत्यु भएको प्रहरीले जनाएको छ । सिटी सफारी चालक धरान–५ बस्ने ३८ वर्षीय रचन मगर जिल्ला ट्राफिक कार्यालय धरानको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालकले सडकमा ध्यान नदिनुका साथै तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।
यस्तै, धरान–१५ एभरेष्ट लाइनमा दुर्घटना हुँदा एकजना गम्भीर घाइते बनेका छन् ।
बगरकोटबाट भानुचौकतर्फ आउँदै गरेको बा५१प ९१२२ नम्बरको मोटरसाइकलले पैदलयात्री धरान–१५ का ६७ वर्षीय चन्द्रकला गुरुङलाई पछाडि बाट ठक्कर दिन पुग्दा उनी गम्भीर घाइते बनेकी हुन् । उनी सामाजिक कार्यमा सक्रिय व्यक्तित्व हुन् । उनको धरानस्थित बीपी प्रतिष्ठानमा उपचार भइरहेको छ । उनको टाउको दुवैखुट्टा र अनुहारमा चोट लागेको र तत्काल बोल्न नसक्ने गम्भिर अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरी सहायक निरीक्षक डम्बर लिम्बूको कमान्डमा प्रहरी पुगेर मोटरसाइकल चालकलाई नियन्त्रणमा लिन खोज्दाखोज्दै भागेको प्रहरीले जनाएको छ । उनको खोजी तीब्र पारिएको प्रहरीले जनाएको छ । तीब्र गतिमा मोटरसाइकल चलाएको कारण दुर्घटना भएको पाइएको प्रहरीले जनाएको छ ।
पुलबाट मोटरसाइकल खस्दा मृत्यु
यस्तै, सुनसरीको दुहबी नगरपालिका ११ सिमरबना पुलमा बा७५प ३११० नम्बरको मोटरसाइकल पुलबाट खस्दा एकजनाको मृत्यु भएको छ ।
तीब्र गतिमा आएको मोटरसाइकल पुलबाट खस्दा मोटरसाइकल चालक सुनसरीको गढी गाउँपालिका २ बस्ने ५५ वर्षीय प्रकाशलाल थान्दारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मुखमा चोट, खुट्टाहातमा चोट अवस्था बोल्न नसक्ने गम्भीर अवस्थामा उनलाई उपचारको लागि विराट अस्पताल पठाइएको र उपचारका क्रममा मृत्यु भएको प्रहरी सहायक निरीक्षक जीवन कार्कीले जानकारी दिए ।
तीब्र गति र चालकले सडकमा ध्यान नदिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।