Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका सरकारी स्कुलको नतिजामा किरातेश्वर मावि पहिलोः प्रधानाध्यापक

हाम्रो कोशी आवाज
भाद्र २४ २०८३, बुधबार
धरानका सरकारी स्कुलको नतिजामा किरातेश्वर मावि पहिलोः प्रधानाध्यापक

धरानको किरातेश्वर स्कुल ५३ वर्षमा, वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइयो

सामुदायिक विद्यालयहरूको नतिजामा किरातेश्वर माध्यमिक विद्यालय धरानमै पहिलो स्थानमा रहेको उनले दाबी गरे ।
धरानः किरातेश्वर माध्यमिक विद्यालय धरान–१९ ले ५३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस बुधबार विद्यालय परिसरमा विविध कार्यक्रम आयोजना गरी मनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि धरान उप–महानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले विद्यालयले विगतका विभिन्न आरोह–अवरोह पार गर्दै वर्तमान अवस्थासम्म आइपुग्न सफल भएकोमा बधाई तथा शुभकामना व्यक्त गरे । धरान शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका क्षेत्रमा अगाडि बढिरहेको उल्लेख गर्दै उनले शिक्षा क्षेत्रको विकासका लागि उपमहानगरपालिकाले विद्यालयसँग हातेमालो गर्दै अघि बढ्ने बताए ।
विद्यालयका प्रधानाध्यापक डा. योगेन्द्र पालुङ्वाले गत वर्षको प्रगति विवरणसहित वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विगतको तुलनामा एसईई, प्लस टु तथा कक्षा ८ को वार्षिक परीक्षाको नतिजामा उल्लेखनीय सुधार आएको जानकारी दिए । होम सेन्टर परेका विद्यालयहरूलाई बाहेक अन्य सामुदायिक विद्यालयहरूको नतिजामा किरातेश्वर माध्यमिक विद्यालय धरानमै पहिलो स्थानमा रहेको उनले दाबी गरे ।
विद्यालयको भौतिक पूर्वाधार तथा शैक्षिक गुणस्तर सुधारमा समुदायको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै प्रधानाध्यापक पालुङ्वाले विद्यालयलाई सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । कार्यक्रममा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरूलाई प्रमुख अतिथि बेघाले ट्रफी, मेडल तथा पुरस्कार वितरण गरे। विद्यार्थीहरूले विभिन्न आकर्षक नृत्य प्रस्तुत गरी कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देउमान ताप्मादेन लिम्बूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा बिकास तथा समन्वय इकाई सुनसरीका प्रमुख देवेन्द्र मल्ल, धरान–१९ का वडाध्यक्ष पूर्णबहादुर लिम्बू, शिक्षा सदन माध्यमिक विद्यालयका प्रधानाध्यापक अशोक पोख्रेल, पञ्चकन्या माध्यमिक विद्यालयका प्लस टु इन्चार्ज यम चाम्लिङ, शिक्षक–अभिभावक संघका अध्यक्ष रविना सुब्बा गुरुङलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति: भाद्र २४ २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend