धरानः धरान–इटहरी सडक खण्डमा पर्ने सेउती पुलमा दुर्घटना भएको छ ।
दुर्घटनामा दुईजना गम्भीर घाइते बनेका छन् । घाइतेको हाल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईले जानकारी दिए । दुवैजना बोल्न नसक्ने अवस्थामा प्रहरी सहायक निरीक्षक वीरबहादुर भण्डारीको प्रहरी टोली पुगेर दुवैजनाको उद्धार गरेरे उपचारका लागि प्रतिष्ठान ल्याएको थियो ।
बुधबार दिउँसो करिब ३ बजे सो दुर्घटना भएको हो । प्रदेश १–०२–०५५ प ३९८३ नम्बरको मोटरसाइकल पुलमा आइपुगेपछि दुर्घटनामा परेको थियो । दुर्घटनामा खोटाङ जन्तेढुंगा गाउँपालिका ४ चुम्लुङ बस्ने ३५ वर्षीय सागर विष्ट र मोटरसाइकल पछाडि सवार सुनसरी बराहक्षेत्र नगरपालिका वडा नं. ६ बस्ने २२ वर्षीय प्रदीप विष्ट रहेको प्रहरीले जनाएको छ । तरहराबाट धरान आउने क्रममा दुर्घटना भएको थियो । मोटरसाइकल हुत्तिएर सडकबाट पुल छेऊमा पुगेको थियो । -अपडेट