धरानः धरान-९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयले प्लस टु पढ्ने छात्राहरूलाई आत्मसुरक्षा तालिम प्रदान गरेको छ ।
स्कुलका प्रिन्सिपल निलमकुमार श्रेष्ठले विद्यार्थीलाई अहिलेको समयमा किताबी ज्ञानबाहेक आफ्नो सुरक्षा कसरी गर्ने साथै आपतकालीन अवस्थामा आफ्नो सुरक्षाको लागि के कस्तो उपायहरु अवलम्वन गर्न सकिन्छ जानकारी प्रदान गर्नका लागि यस्तो तालिम दिइएको बताए ।
‘विद्यार्थीलाई पठनपाठनको अलवा शैक्षिक पात्रोमै उल्लेख गरेर विभिन्न विधाहरुमा तालिम, अभिमुखीकरण साथै प्रवलीकरण जस्ता अतिरिक्त क्रियाकलापका विविध क्रियाकलापमा जोड दिँदै आएका छौं’, उनले थपे, ‘यही अन्तर्गत आत्मरक्षा अर्थात् आत्मसुरक्षा तालिम तालिम दिइएको हो ।’
किशोरीहरूले यौनहिंसा तथा दुव्र्यवहार भएमा वा बलात्कारको प्रयास गर्न खोजे प्रतिकार कसरी गर्ने उपायलगायतका उपाय सिकाइएको सहजीकरण गर्दै आएकी सुविक्षा राईले बताइन् । किशोरीहरुलाई गलत नियतले हात समाते, पछाडिबाट अंगालो हाल्न खोजे, कपाल समाते, बलात्कार वा यौनहिंसाको प्रयास गर्न खोजे हिंसाबाट जोगिन ‘सेल्फ डिफेन्स’ उपायसहितका अन्य उपाय सिकाइएको आत्मसुरक्षाको उनले जानकारी दिइन् । ‘यो तालिमबाट एक्लै हिँडडुल गर्दा कसैले जबरजस्ती गर्न खोजे त्यसबाट बच्ने उपाय सिकाइएको र किशोरीहरुको आत्मबल बढने छ’, उनले भनिन् ।
आत्मविश्वासको कमीले बालिका, किशोरी र महिला बलात्कारको शिकार हुने हुँदा आत्मविश्वास जगाई आत्मरक्षा गर्ने विधि सिकाइएको उनको भनाइ छ । बालिकामाथि हुने यौनहिंसा नियन्त्रण गर्न आत्मरक्षा तालिम आवश्यक देखिएकोले फलदायी हुने विश्वास रहेको उनको भनाई छ ।
आत्मसुरक्षाको सीप सिकेकी किशोरी कक्षा–११ विज्ञान सङ्कायमा स्वीकृति खड्काले तालिममा यौनजन्य दुव्र्यवहारबाट कसरी जोगिने भन्ने सिकाई भएको जानकारी दिइन् । ‘बालिका तथा किशोरीहरूमाथि आक्रमण बढ्दो छ, अस्ति भर्खरै तीन वर्षीया बालिका समेत असुरक्षित रहेको थाहा पायौं, अहिलेको अवस्थामा बालिका तथा किशोरी असुरक्षित हुँदै गएको पाइएको छ’, स्वीकृतिले भनिन्, ‘तालिम सारै महत्वपूर्ण रह्यो, यस्तो अवस्थामा कसरी डिफेन्स गर्न सकिन्छ भन्नेबारेमा तालिम दिएपछि थप आत्मविश्वास बढेको छ ।’
तालिममा सहभागी कक्षा–११ की जिज्ञासा अधिकारीले तालिम निकै फलदायी भएको र आत्मविश्वास पुरै बढेर गएको बताइन् । ‘तालिम अगाडि कसैले हामीलाई बलत्कार वा यौनहिंसा गर्न खोजे के गर्ने होला भनेर चिन्ता लाग्थ्यौ । तालिम लिएपछि आत्मबल बढ्यो ।’ उनले भनिन् ।
आफू बच्न तरिका सिकेको छात्रा झरना राईले बताइन् । ‘यौन हिंसा तथा दुव्र्यवहारको प्रयास गरे प्रतिकार गर्न यो तालिमले आफूलाई एक्लो छैनौं भन्ने विश्वास बढाएको छ’, उनले भनिन्, ‘तालिममा सिकेका कुरा अरुलाई पनि सिकाउँछौं ।’
यसले आत्मरक्षा कला मात्रै सिक्ने नभएर छात्राहरुको आत्मविश्वास पनि अभिवृद्धि हुने ठानेर यस्तो कार्यक्रमलाई जोड दिइएको प्लस टु कोअर्डिनेटर नविन शाक्यले बताए । ‘आत्मविश्वास वृद्धि भएसँगै उनीहरु खुलेर आफ्नो प्रतिभा प्रष्फुटन गर्न सक्छन् र समाजमा सुरक्षित महसुस गर्नेछन् भन्ने विश्वास लिइएको छ’, उनी भन्छन् ।
छात्रा नुङसाङ राईले तालिम फलदायी भएको बताउँदै जीवनलाई बचाउने खालको तालिमले आत्मविश्वास बढेको बताइन् । स्वास्थ्य राम्रो भयो भने पठनपाठनमा पनि सहयोग पुग्ने र यस्ता खालका तालिमले सोंच्ने शक्ति पनि बढाउने उनको भनाइ छ । उनले तालिमले आफूले ‘रिफ्रेस’ समेत महसुस गरेको बताइन् । विद्यार्थीका लागि यस्तो खाले तालिम निकै महत्वपूर्ण रहेको र आफूले कसरतका रुपमा पनि लिइएको उनको भनाइ छ ।
अन्त्यमा प्रशिक्षिका सुवेक्षाले भनिन्, ‘विशेषतः छात्राहरुले कतिपय आपराधिक घटनाको सामना गर्नुपरिरहेको छ’, उनले भनिन्, ‘यस्ता घटनाबाट बच्न पनि आत्मरक्षा जरुरी छ, त्यसका लागि यस्ता तालिमले धेरै सहयोग गर्छ र यो निकै महत्वपूर्ण पनि छ ।’
स्कुलले थप शैक्षिक गुणस्तरका लागि अतिरिक्त क्रियाकलापमा समेत जोड दिँदै गएको छ । स्कुलमा नानीहरूलाई किताबी ज्ञान मात्रै नभएर विषय शिक्षक नै राखेर अतिरिक्त क्रियाकलापको कक्षा नै सञ्चालन भइरहेको प्रिन्सिपल श्रेष्ठले जानकारी दिए । ‘प्रतिभा देखाउन चाहने विद्यार्थीका लागि हामीले पहिल्यै जानकारी दिँदै आएको छौं, त्यसमा जो जुन विधामा रुचि राख्छन्, सोही विधामा हामी निःशुल्क अतिरिक्त क्रियाकलाप गराइरहेका छौं ।’
तस्वीरहरूः हाम्रो कोशी आवाज































































