धरानः धरानमा खैरो हिरोइन (ब्राउन सुगर) सहित एकजना पक्राउ परेका छन् ।
धरान उपमहानगरपालिका वडा नं. ७ हिमालय पेट्रोल पम्पमा अस्थायी प्रहरी चौकी बरगाछी सुनसरीबाट खटिएको प्रहरी टोलीले एकजना युवालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तेह्रथुम छथर गाउँपालिका वडा नं. ५ बस्ने ३० वर्षीय सञ्जीव दास रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । शंका लागेर खानतलासी तथा चेकजाँच गर्दा निजको साथबाट लागूऔषध ब्राउन सुगर ०.३ ग्राम फेला परेको प्रहरीले जनाएको छ । लागूऔषध सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरान सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
सुनसरीका दुई स्थानबाट पनि ब्राउन सुगरसहित पक्राउ
यस्तै, सुनसरी बराहक्षेत्र नगरपालिका वडा नं. ९ बाँध डाँडामा प्रहरी चौकी प्रकाशपुरबाट खटिएको प्रहरी टोलीले मधुवनबाट राजाबासतर्फ आउँदै गरेको को१०प ८८५२ नम्बरको मोटरसाईकल चालक जिल्ला सुनसरी बराहक्षेत्र नगरपालिका वडा नं. ९ बस्ने वर्ष २५ को भजनदेव रामलाई शंका लागि खानतलासी तथा चेकजाँच गर्दा निजको साथबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ०.५९ ग्राम (पाँच सय नब्बे मिलिग्राम) फेला परेको हुँदा निजलाई उक्त लागू औषध र मोटरसाइकल सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, सुनसरी कोशी गाउँपालिका वडा नं. १ लौकही बजारमा इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको जिल्ला धादिङ बेनीघाट नगरपालिका वडा नं. १ बस्ने २८ वर्षीय राजकुमार थिङ तामाङलाई शंका लागि खानतलासी तथा चेकजाँच गर्दा निजको साथबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ३.३९ ग्राम फेला परेको हुँदा निजलाई सो लागू औषध सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
