धरानः धरानका राज राईको मलद्वारबाट लागूऔषध खैरो हिरोइन (ब्राउन सुगर) निकालिएको छ ।
धरान उपमहानगरपालिका वडा नं. ५ बस्ने २२ वर्षीय राज राईको मलद्वारबाट ब्राउन सुगर निकालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।
प्रहरीले राईको साथमा लागूऔषध रहेको सुइँको पाएपछि उनको धरानस्थित बीपी प्रतिष्ठानमा गत शनिबार स्वास्थ्य परीक्षणका लागि पठाइएको थियो । प्रतिष्ठानमा आइतबार विशेषज्ञ चिकित्सकको सहायताले स्वास्थ्य परीक्षण गराउँदा निज राईले मलद्वारभित्र प्लाष्टिकमा पोको पारी लुकाइछिपाई राखेको अवस्थामा लागूऔषध ब्राउन सुगर ३.२१ ग्राम फेला परेको थियो । उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
सुनसरी भोक्राहा नरसिंह गाँउपालिका वडा नं.६ ढलान रोडमा लागूऔषध ओसारपसार भइरहेको छ भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लौकही र प्रहरी चौकी नरसिंहटप्पु सुनसरीबाट संयुक्तरूपमा खटिएको प्रहरी टोलीले भुटाहाबाट फुलचोकतर्फ पैदल हिँड्दै गरेका उनलाई समातेको हो ।
यस्तै, सोहीदिन सँगै रहेका जिल्ला इलाम देउमाई नगरपालिका वडा नं. ६ बस्ने २८ वर्षीय मदन सुवेदीको साथबाट लागूऔषध ब्राउन सुगर ५.१८ ग्राम फेला परेपछि उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।