धरानः पछिल्लो समय जन्मदिनमा गरिने फजुल खर्च कटौती गरी गरिब, दुःखी र बेसहाराको जीविकोपार्जनमा सहयोग गर्ने क्रम बढेर गएको छ ।
यसै क्रममा धरान–१६ निवासी डम्बरकुमार तुम्बापो परिवारले आश्रममा गएर जन्मदिन मनाएका छन् । धरान–१६ स्थित युएन, नवोदय कलेजका क्याम्पस प्रमुख समेत रहेका डम्बरकुमार तुम्बापोले आफ्नो जन्मदिनको अवसर पारेर धरान–१६ स्थित मानव सेवा आश्रममा गएर जन्मदिन मनाएका हुन् । आश्रममा रहेका परिवारलाई तीजको उपलक्ष्यमा खीर, पुरी, तरकारीलगायतका परिकार बनाएर खुवाएका हुन् । आश्रममा रहेका झन्डै ३५ जनाभन्दा बढी आश्रय लिइरहेका बालबालिका, वृद्धवृद्धलाई श्रीमती सञ्जु माबोसहित छोराहरूको उपस्थितिमा भोजन गराइएको हो ।
जन्मदिनको अवसरमा हजारौं पैसा खर्च गरेर मनोरञ्जन गर्नुको साटो बालबालिका तथा ज्येष्ठ नागरिकको सेवा गर्नु पाउँदा निकै खुशी लागेको उनले बताए ।
उनले प्रत्येक वर्ष सामाजिक क्षेत्रमा लगानी गरेर जन्मदिन मनाउने गरेको बताए । ‘मैले केही वर्षदेखि जन्मदिनमा साथीभाइ, आफन्तसँग रमाइलो गर्दै आएको थिएँ’, उनले भने, ‘केही वर्षदेखि अनावश्यक खर्च नगरी सबै आश्रममा पुग्ने गरेको छु, सबैले फजुल खर्च कटौती गरी दुःखी पीडितलाई सहयोग गर्ने हो भने कोही पनि अभावमा बाँच्नुपर्दैन ।’
उनले समाजमा जन्मउत्सव, विवाह, ब्रतबन्धन जस्ता कार्यमा भोजभतेर गरी भड्किलो गर्ने परिपाटीलाई एक प्रकारले सन्देश दिएको युएन कलेजका पब्लिक रिलेसन अफिसर राम लिम्बूले बताए । उनले रमणीयस्थलमा गएर जन्मदिन गर्नुभन्दा आश्रममा गएर सेवा गर्नु नै महान धर्म रहेको बताए । उनले मानव सेवा आश्रमले सडक मानव मुक्त गर्ने अभियानको थालनी गरेको सो कार्य निकै सान्दर्भिक र निकै फलदायी रहेको बताए ।
जन्मदिन मनाउन कुनै रेष्टुरेन्टमा गएर खर्च गर्नु भन्दा यसरी असहाय आमाबुबा दाजुभाइ दिदीबहिनीहरूलाई भोजन गराएर मनको आनन्द मिलेको क्याम्पस प्रमुख तुम्बापोले बताए । ‘मैले जुन समाजप्रति योगदान गर्न खोजिरहेको छु, त्यो मेरो छोराहरूले पनि सिकुन् भन्ने हिसाबले पनि मैले यो कामहरू गरिरहेको छु, यो भन्दा आनन्दको महसुस के होला ?’
फजुल खर्च गरेर पार्टी गर्नुभन्दा असहाय, वृद्धवृद्धा वा बालबालिकालाई खुवाउनु धेरै राम्रो काम भएको बताउँदै उनले त्यसबाट पाउने आशीर्वाद र खुशी ठूलो कुरा भएको बताए । ‘आश्रममा आश्रित मानिसहरूको मुहारमा खुसी देख्न पाइन्छ र उनीहरूको मनैदेखि आशीर्वाद पाइन्छ । समाजमा यसले राम्रो सन्देश दिन्छ र अरूलाई पनि यस्तै प्रेरणा मिल्छ, सकारात्मक सन्देश जान्छ ।’































