धरानः धरानमा इभीले मोटरसाइकललाई ठक्कर दिँदा ड्युटीमा खटिएका एक प्रहरी गम्भीर घाइते भएका छन् । दुर्घटनामा प्रहरीका दुवै खुट्टा र अनुहारमा चोट लागेको छ । खुट्टामा चाहिँ उनको गम्भीर चोट छ । दुर्घटनापछि घाइते प्रहरीलाई तत्काल उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
दुर्घटनामा अस्थायी प्रहरी चौकी तीननकुनेमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार चन्द्रकुमार श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–४ घर भएका श्रेष्ठ ड्युटीमै थिए ।
धरान-८ स्थित कोशी लोकमार्गमा धरानबाट सेउतीतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ज ४६०२ नम्बरको इभी गाडीले सोही दिशातर्फ जाँदै गरेको स६प ४४९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा उनले बोकेको प्रहरी सञ्चार सेटसमेत फुटेर क्षति भएको छ ।
इभी चालक धरान–१७ का ४३ वर्षीय मोहन राईलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।