Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको विश्वकर्मा मन्दिरमा यस वर्ष पूजा गर्नेको भीड लागेन (फोटो फिचरसहित)

हाम्रो कोशी आवाज
असोज १ २०८३, बिहिबार
धरानको विश्वकर्मा मन्दिरमा यस वर्ष पूजा गर्नेको भीड लागेन (फोटो फिचरसहित)

धरानः धरानस्थित विश्वकर्मा मन्दिरमा सधैंको वर्षझैं यसवर्ष भीड लागेन । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण पनि यस वर्ष भक्तजन घटेको हुनसक्ने लाङघाली टोल विकास संस्थाका अध्यक्ष महेन्द्र श्रेष्ठले बताए ।
धरान-८ विश्वकर्मा बाबाको मन्दिरमा बिहान ४ बजेदेखि नै अचाक्ली भीड साथै लामो लाइन लाग्नुपर्ने अवस्था थियो भने यसवर्ष मन्दिर नआउने वा नसक्नेले पनि घरमै मेसिन, औजार, हाततियारको पूजा गरेर मनाएको उनले बताए । उनले विगतमा सानो बाटो हुँदा धेरै दुर्घटना हुने भएकोले यहाँ विश्वकर्मा मन्दिरको स्थापना गरिएको बताए ।
विश्वकर्मा पूजाको दिन मन्दिरमा आएर पूजाआजा गर्दा व्यवसायिक सफलतासँगै पारिवारिक सुख मिल्न सर्वसाधारण बताउँछन् । अन्य दिनमा नयाँ सवारी साधन किन्दा, नयाँ उद्योग धन्दा शुरु गर्दा फाट्टफुट्ट पूजाआजाका लागि आउने भएपनि विश्वकर्मा पूजाको दिन भने अत्याधिक भीड हुने गर्दछ ।
विश्वकर्मा बाबाप्रति आस्था बढेकै कारण वर्षेनी यो दिन पूजाआजाका लागि आउने गरेको अध्यक्ष श्रेष्ठ बताउँछन् । कोशी प्रदशमै धरान–८ मा मात्र विश्वकर्मा मन्दिर भएकोले यहाँ पूर्वका विभिन्न स्थानबाट पूजाआजाका लागि आउने गरेका छन् ।
फलाम तथा पार्टपूर्जाको यस दिन पूजाआजा गर्दा फलाम फाप्ने जनविश्वास रहेको छ । चालकहरुले आफ्नो व्यवस्थतालाई समेत थाति राखेर मन्दिरमा लाइन लागेर पूजाका लागि जाने गरको पाइएको छ । आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजाआराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।
द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको धार्मिक विश्वास पाइन्छ ।
सृष्टिको सृजना गर्ने आफ्नो जिम्मेवारी निभाउन ब्रहमाले आफ्नो वंशजदेव शिल्पी विश्वकर्मालाई आदेश दिएको कथन छ । विश्वकर्मालाई विश्वकै सबैभन्दा पहिलो इन्जिनियर र वास्तुकार पनि मानिन्छ । उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनैलोकको निर्माण गरेको किवदन्ती छ ।
नेपालमा असोज १ गतेलाई विश्वकर्मा दिवसको रूपमा मानिन्छ ।

 

प्रकाशित मिति: असोज १ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend