Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान मेघा कलेजमा सांस्कृतिक कार्यक्रमसहित स्वागत

हाम्रो कोशी आवाज
असोज ३ २०८३, शनिबार
धरान मेघा कलेजमा सांस्कृतिक कार्यक्रमसहित स्वागत

धरानः धरान-१२ स्थित धरान मेघा हिमालयन स्कुल, कलेज प्लस टुमा कक्षा–११ मा अध्ययन गर्न आएका नवआगन्तुक विद्यार्थीलाई स्वागत गरिएको छ । कक्षा–१२ का विद्यार्थीको आयोजनामा शुक्रबार धरान–१५ स्थित चुम्लुङ भवनमा स्वागत तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख ध्रुवराज खड्काले विभिन्न स्थानबाट धरान मेघा हिमालयनमा अध्ययन गर्न आएका विद्यार्थीलाई शैक्षिक सफलताको शुभकामना व्यक्त गरे । उनले धरान मेघा हिमालयन धरानमा गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाका रूपमा स्थापित भएको बताउँदै पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई सहभागी गराउनुपर्नेमा जोड दिए ।
कलेजका अध्यक्ष राजेश विद्रोहीले विद्यार्थीको पढाइलाई प्राथमिकतामा राख्दै गुणस्तरीय शिक्षामा कुनै सम्झौता नगर्ने बताए । उनले विद्यार्थीको रुचि र क्षमताअनुसार अतिरिक्त क्रियाकलापलाई समेत समान रूपमा अघि बढाइने बताए। कलेजका प्रिन्सिपल दीपक घिमिरेले कक्षा–११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै गुणस्तरीय शिक्षामार्फत उनीहरूको उज्ज्वल भविष्य निर्माणका लागि कलेजका तर्फबाट कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।
कलेजका निर्देशक अर्जुन घिमिरेका अनुसार कक्षा–११ मा कोशी प्रदेशका उदयपुर, सुनसरी, मोरङ, भोजपुर, खोटाङ, ओखलढुंगा, संखुवासभा, तेह्रथुम, झापा, ताप्लेजुङ, इलाम, पाँचथरलगायत जिल्लाबाट विद्यार्थी अध्ययनका लागि आएका छन् । कार्यक्रममा कक्षा–१२ का विद्यार्थीका तर्फबाट स्वर्णिम थापा मगरले स्वागत मन्तव्य व्यक्त गरे। कक्षा–१२ का विद्यार्थीले प्रस्तुत गरेका विभिन्न आकर्षक नृत्य तथा गीतले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो
यसैबीच, कलेजमा लेखा विषय अध्यापन गराउँदै आएका शिक्षक प्रमोद श्रेष्ठलाई सम्मान गरिएको छ। आफ्नो कर्तव्यप्रति निष्ठावान, मेहनती तथा पेशाप्रति समर्पित रही योगदान पुरयाएको भन्दै कलेजले श्रेष्ठलाई सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि शिक्षा महाशाखा प्रमुख ध्रुवराज खड्का, कलेजका अध्यक्ष राजेश विद्रोही र प्रिन्सिपल दीपक घिमिरेले श्रेष्ठलाई दोसल्ला तथा ढाकाको टोपी लगाइदिँदै सम्मानपत्र प्रदान गरे । कलेजका सबै फ्याकल्टी सदस्य अब्बल र मेहनती रहेको बताउँदै अध्यक्ष विद्रोहीले हरेक वर्ष एक जना शिक्षकलाई प्रोत्साहनस्वरूप सम्मान गर्ने बताए ।
कार्यक्रममा आइडियल इङलिस बोर्डिङका प्रिन्सिपल तथा कलेजका शेयर सदस्य सागर खड्का, बीबीएस कोअर्डिनेटर चन्द्र वनेम, इमानुएल इङलिस बोर्डिङका प्रिन्सिपल तथा कलेजका शेयर सदस्य प्रभास राजवंशी, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले, धरान मेघा हिमालयन स्कुलका इन्चार्ज नवराज दाहाललगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन छात्राहरू सिना राई, दिविका राई, सन्जिना राई र जिज्ञासा भट्टराईले गरेका थिए ।

प्रकाशित मिति: असोज ३ २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend