धरानः धरानमा दोस्रोपटक आयोजना भएको रात्रीकालीन खेलमा दर्शक खचाखच भरिएका छन् ।
पहिलो खेलमा गोलको वर्षा नै भएको छ । उद्घाटन खेल नेपालको चर्चित विभागीय टोली एपिएफ क्लब काठमाण्डौं र पाहुना टोली अक्वा क्लब झारखण्ड, भारतबीच भएको खेलमा ७–० गोल अन्तरले एपिएफ विजयी बन्यो ।
एपिएफकी पूर्णिमा राईले सहजै चार गोल गरिन् भने रश्मीकुमारी घिसिङले दुई गोल गरिन् । एक गोल आत्मघाती उपहार पाएको एपिएफले पहिलो हाफमा ३–० र दोस्रो हाफमा थप चार गोल गरेको थियो । चार गोल गरेकी पूर्णिमा प्लेयर अफ द म्याच घोषित भइन् । एपीएफकी पूर्णिमा राईले खेलको १८ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् । २२ औँ मिनेटमा अक्वाका खेलाडीबाट आत्मघाती गोल भएपछि एपीएफको अग्रता दोब्बर भयो । खेलको २९ औँ मिनेटमा रश्मिकुमारी घिसिङले गोल थपेपछि पहिलो हाफमा एपीएफले ३–० को अग्रता बनाएको थियो ।
दोस्रो हाफको १३औँ मिनेटमा पूर्णिमाले व्यक्तिगत दोस्रो गोल गरिन् । त्यसको चार मिनेटपछि हेडमार्फत गोल गर्दै उनले ह्याट्रिक पूरा गरिन् । खेलको ७८औँ मिनेटमा पूर्णिमाले व्यक्तिगत चौथो गोल गरिन् । खेल सकिन एक मिनेट बाँकी रहँदा रश्मिकुमारीले व्यक्तिगत दोस्रो गोल थपेपछि एपीएफ ७–० गोलअन्तरले विजयी भयो ।
आयोजक डी १९ क्लब र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा हुने गोल्डकप धरान १६ स्थित रंगशालामा मंसिर ६ गतेसम्म सञ्चालन हुनेछ ।
गोल्डकप विजेताले च्याम्पियन ट्रफीसहित नगद पाँच लाख रुपैयाँ हात पार्नेछ भने उपविजेताले तीन लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ । सर्वोत्कृष्ट खेलाडीले इभी स्कुटर पाउदा प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछ । यसैगरी, उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही १५ हजार रुपैयाँ दिइनेछ ।
प्रतियोगिताअन्तर्गत भोलि स्वर्णिम फुटबल क्लब र गाईघाट फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।















