धरानः धरानमा पहिलोपटक रात्रीकालीन महिला फुटबल आयोजना हुने भएको छ । कार्तिक २८ अर्थात् शनिबारदेखि मङसिर ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त खेलाडी र क्लबको सहभागिता रहनेछ ।
‘धरान अन्तर्राष्ट्रिय महिला गोल्डकप २०८३’ नाम दिइएको प्रतियोगिताको तयारी पूरा भएको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । धरान रंगशालामा आयोजना हुने प्रतियोगिताको लागि सबै खेल रात्रीकालीनरूपमा सञ्चालन गर्ने गरी अस्थायी फ्लडलाइट जडान गरिसकिएको छ । यो फ्लडलाइड जडान दबाव र व्यङग्यका लागि भएको धरान–१० का वडाध्यक्ष विवेक राईले पत्रकार सम्मेलनमा बताए ।
‘धरानमा पनि रात्रीकालीन खेल हुनसक्छन् भनेर सन्देश छर्न र सरकारलाई फ्लड लाइट जोड्न दबाव दिने उद्देश्यले पनि यो प्रतियोगिता सकिनसकी गर्न लागिएको हो ।’ उनले भने । उनले करिब ९१ लाख रुपैयाँको लगानीमा प्रतियोगिता सक्ने हिसाबले अघि बढेपनि धरान उपमहानगरपालिकाबाट १० लाख रुपैयाँबाहेक खासै सरकारी पक्षबाट ध्यान दिन नसकेको भन्दै गुनासो गरे ।

डी–१९ क्लब धरान–१९ र स्वर्णिम फुटबल क्लबको आयोजनामा हुने प्रतियोगितामा नेपालका विभागीय टोलीसहित भारतको एक क्लब गरी ८ टोलीले सहभागिता जनाउने आयोजकले जनाएको छ । यसपटक सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाली आर्मी, नेपाल पुलिस क्लब, बागमती फुटबल क्लब, उदयपुर फुटबल क्लब, भारतको आक्वा फुटबल क्लब राँची झारखण्ड, काकडभिट्टा महिला फुटबल क्लब र आयोजक स्वर्णिम क्लब धरान सहभागी हुनेछन् । उद्घाटन खेल भारतको आक्वा फुटबल क्लब र विभागीय टोली एपीएफबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख रुपैयाँ पाउनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ईभी स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । क्लबका अध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष राईले धरानमा यसअघि अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप हुँदै आए पनि महिला फुटबलको अन्तर्राष्ट्रिय क्लबस्तरीय प्रतियोगिता रात्रिकालीन रूपमा पहिलो पटक आयोजना गर्न लागिएको बताए । यसअघि धरानमा गोधूली कप फुटबल प्रतियोगिता एक पटक रात्रिकालीन रूपमा सञ्चालन गरिएको थियो ।
महिला फुटबलको व्यावसायिक विकाससँगै स्थानीय खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका सचिव उमेश जिमीले बताए । प्रतियोगितामा राष्ट्रियस्तरका महिला खेलाडीहरूको समेत सहभागिता रहने आयोजकको भनाइ छ । प्रतियोगिताको ट्रफी सार्वजनिक कार्यक्रममा उत्कृष्ट खेलाडीलाई प्रदान गरिने इभी स्कुटरको चाबीसमेत हस्तान्तरण गरिएको थियो । धरान–१९ निवासी सम्झना खालिङले आफ्ना दिवङ्गत बुबाको स्मृतिमा उक्त स्कुटर प्रायोजन गरेकी हुन् ।
नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष पदम इश्वोले दिवङ्त आमाबुबाको स्मृतिमा प्रतियोगिताको ट्रफी हस्तान्तरण गरेका हुन् । ट्रफीमा धरानका विभिन्न पहिचान झल्किने दृश्यहरू समेटिएको इश्वोले जानकारी दिए ।
