Hamro Koshi Aawaj

सोमबार, कार्तिक ३० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अनुपम उत्सव छठ पर्वको महिमा

हाम्रो कोशी आवाज
कार्तिक २९ २०८३, आइतबार
अनुपम उत्सव छठ पर्वको महिमा

‘केरवा जे फरल घउरस,
ओपर सुगा मडराय,
मारबौ रे सुगवा धनुषस,
सुगा गिरे मुरझाय’ ।
छठ पर्वको यो लोकप्रिय लोकगीत यतिबेला मिथिलाञ्चलका गाउँसहरमा गुञ्जिरहेको छ । छठीमातालाई चढाइने पवित्र प्रसाद केरालाई चराचुरुङ्गीले नखाऊन् भन्ने भाव बोकेको यस गीतले छठको धार्मिक आस्था, पवित्रता र प्रकृतिप्रतिको प्रेमलाई एकसाथ अभिव्यक्त गर्छ ।
चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्व नजिकिएसँगै तराई–मधेसका गाउँबस्ती, सहर, बजार र जलाशयमा छुट्टै रौनक छाएको छ । घरआँगनदेखि नदी, पोखरी र तलाउसम्म सरसफाइ तथा सजावटले उत्सवमय बनेका छन् ।
बजारमा बाँसका सामग्री, माटाका भाँडाकुँडा, फलफूल, उखु, अदुवा, केरा, नरिवललगायत पूजाका सामग्री किनमेल गर्नेको चहलपहल बढेको छ । घरबाट टाढा रोजगारी र अध्ययनका लागि गएका परिवारका सदस्यसमेत पर्व मनाउन घर फर्किन थालेपछि गाउँबस्तीमा पारिवारिक भेटघाट र आत्मीयताको माहोल बनेको छ ।
मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी भन्नुहुन्छ, “छठ केबल धार्मिक अनुष्ठान मात्र होइन, प्रकृति, कृषि, संस्कृति, सामाजिक सद्भाव र पारिवारिक एकताको जीवन्त प्रतीक पनि हो । प्रत्यक्ष देखिने देवता मानिने सूर्यको उपासना गर्दै मनाइने यस पर्वमा अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई समान श्रद्धाका साथ अर्घ्य अर्पण गरिन्छ । संसारलाई प्रकाश, ऊर्जा र जीवन प्रदान गर्ने सूर्यप्रति कृतज्ञता व्यक्त गर्नु नै यसपर्वको मूल भाव हो ।”
सूर्य उपासना र छठी माताको महिमा
छठ पर्वमा सूर्यदेवसँगै षष्ठी देवी अर्थात् छठी माताको पूजा गरिन्छ । पौराणिक मान्यताअनुसार षष्ठी माताले सन्तानको रक्षा गर्नुका साथै उनीहरूलाई स्वास्थ्य, दीर्घायु र सुख प्रदान गर्छिन् । सन्तान प्राप्ति, सन्तानको कल्याण, पारिवारिक सुख, शान्ति र समृद्धिको कामनासहित श्रद्धालु यस पर्वमा कठोर व्रत बस्ने गर्छन् । धार्मिक मान्यताअनुसार प्रकृति देवीको छैटौँ अंशका रूपमा षष्ठी देवीको उत्पत्ति भएको हो । त्यसैले उहाँलाई षष्ठी भनिएको र स्थानीय बोलीचालीमा छठीमाता भन्ने गरिएको विश्वास छ । पुराणमा षष्ठी देवीलाई ब्रह्माकी मानसपुत्री तथा कात्यायनीका रूपमा समेत उल्लेख गरिएको पाइन्छ ।
छठीमाताको पूजा शुरुभएको सम्बन्धमा राजा प्रियव्रतको पौराणिक कथा प्रचलित छ । सन्तान नहुँदा दुःखी भएका राजा प्रियव्रतले महर्षि कश्यपको सल्लाहमा पुत्रेष्टि यज्ञ गराएका थिए । यज्ञपछि जन्मिएको शिशु मृतावस्थामा जन्मिएपछि राजा शोकमा डुबेका थिए । त्यसैबेला दिव्य देवी प्रकट भई मृत शिशुलाई जीवन प्रदान गरेको धार्मिक कथन छ । देवीको कृपाबाट प्रभावित राजाले षष्ठी देवीको स्तुति गरेपछि छठ पूजाको परम्परा शुरुभएको जनविश्वास रहेको छ ।
सूर्यको उपासनाले आरोग्य, ऊर्जा, तेज, समृद्धि र सकारात्मक चेतना प्राप्त हुने धार्मिक विश्वास छ । रामायण र महाभारतकालीन कथासँग समेत सूर्य उपासनाको सम्बन्ध जोडिएको पाइन्छ । श्रीरामले रावणसँगको युद्धमा विजय प्राप्त गर्नुअघि आदित्य हृदयस्तोत्रको पाठ गरेको तथा श्रीकृष्णका पुत्र साम्बले सूर्यको उपासनाबाट कुष्ठरोगबाट मुक्ति पाएको पौराणिक प्रसङ्गले यस पर्वको धार्मिक महत्वलाई थप उजागर गर्छ ।
चार दिन, चार विधि र कठोर आस्था
छठ पर्वको विशेषता यसको चार दिवसीय विधि हो । पुरोहित लालबाबु झाका अनुसार कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यसपर्वको प्रत्येक दिनको आफ्नै धार्मिक र सांस्कृतिक महत्व छ । चैत महिनामा पनि यही विधिअनुसार छठ मनाउने परम्परा छ, जसलाई चैती छठ भनिन्छ ।
पर्वको पहिलो दिनलाई ‘नहाय–खाय’ वा ‘अरबा–अरबाइन’ भनिन्छ । यस दिन व्रतालुहरू नदी, पोखरी तथा अन्य जलाशयमा स्नान गरी शुद्ध हुन्छन् । घरको सरसफाइ तथा पूजाको तयारी गरेपछि चोखो खाना ग्रहण गर्छन् । यस दिनदेखि नै व्रतालुले खानपानमा विशेष शुद्धता अपनाउँदै माछामासु, लसुन, प्याजलगायतका खाद्यवस्तु त्याग्ने गर्छन् ।
दोस्रो दिन अर्थात् पञ्चमीलाई ‘खरना’ भनिन्छ । यस दिन व्रतालुहरू दिनभरि निर्जला उपवास बसेर साँझ चन्द्रदर्शनपछि पूजा गर्छन् । नयाँ चुलोमा शुद्धतापूर्वक तयार पारिएको खीर, केरा र अन्य प्रसाद ग्रहण गरी परिवार तथा छरछिमेकलाई प्रसाद वितरण गरिन्छ । खरनापछि व्रतालुले कठिन निर्जला व्रत शुरुगर्छन् ।
तेस्रो दिन षष्ठीका दिनलाई ‘सझिया घाट’ भनिन्छ । यस दिन गहुँ र चामललाई परम्परागत जातो, ढिकी वा ओखलमा कुटेर तयार पारिएको पिठोबाट ठेकुवा, भुसुवा, कसारलगायतका प्रसाद बनाइन्छ । बाँसको सुप, डाला र अन्य भाँडामा उखु, नरिवल, केरा, अदुवा, फलफूल तथा विभिन्न कृषिउपज सजाएर साँझपख व्रतालु जलाशयमा पुग्छन् ।
अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरी परिवारको सुख, शान्ति र समृद्धिको कामना गरिन्छ । पर्वको चौथो दिन सप्तमीमा बिहान सबेरै व्रतालुहरू पुनः जलाशयमा पुगेर उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन् । यसलाई ‘पारन’ भनिन्छ । बिहानको अर्घ्यसँगै चार दिनसम्मको कठिन व्रत सम्पन्न हुन्छ । त्यसपछि व्रतालुले प्रसाद ग्रहण गरी व्रत समापन गर्छन् ।
सामाजिक सद्भाव र समानताको सन्देश
छठ पर्वको सबैभन्दा सुन्दर पक्ष सामाजिक समावेशिता र समानताको सन्देश हो । जात, धर्म, वर्ग, लिङ्ग र आर्थिक अवस्थाका आधारमा कुनै भेद्भाव नगरी सबै समुदायका मानिस एकै ठाउँमा भेला भएर सूर्यको आराधना गर्छन् । धनी–गरिब, सानो–ठूलो सबैले एउटै जलाशयमा उभिएर अर्घ्य अर्पण गर्ने परम्पराले सामाजिक समानताको सन्देश प्रवाह गर्छ ।
समाजशास्त्री नागेन्द्र दुबे सूर्य उपासनाको परम्परामा छठलाई विशिष्ट पर्वका रूपमा व्याख्या गर्नुहुन्छ । उहाँका अनुसार अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई समान श्रद्धाका साथ पूजा गरिने भएकाले संसारका अन्य सूर्य उपासना परम्पराभन्दा छठको विशेष महत्व रहेको छ । छठले सामाजिक सम्बन्धलाई बलियो बनाउने गरेको छ । वर्षौंदेखि भेटघाट हुन नसकेका आफन्त, साथीभाइ र छिमेकीलाई एकै ठाउँमा भेट्ने अवसर यस पर्वले प्रदान गर्छ ।
केही वर्षअघिसम्म तराई–मधेशका समुदायको प्रमुख पर्वका रूपमा सीमित छठ अहिले राष्ट्रिय पहिचानको पर्व बन्दै गएको छ । पहाडी समुदायका महिला तथा अन्य समुदायका मानिससमेत श्रद्धापूर्वक छठ मनाउन थालेका छन् । कतिपय मुस्लिम समुदायका व्यक्तिहरू पनि यस पर्वको व्यवस्थापन र सामाजिक गतिविधिमा सहभागी हुने गरेका छन् । यसले छठलाई धार्मिक आस्थासँगै सामाजिक एकताको साझा उत्सवका रूपमा स्थापित गर्दै लगेको छ ।
संस्कृति, कृषि र सीपको जीवन्त सङ्गम
प्राज्ञ रामभरोस कापडीका अनुसार छठ पर्वले स्थानीय कृषि उत्पादन, परम्परागत सीप र ग्रामीण अर्थतन्त्रलाई जोडेको छ । उहाँले पर्वका लागि आवश्यकपर्ने सामग्रीमध्ये अधिकांश स्थानीय किसान, कुम्हाले र बाँसका हस्तकला सामग्री बनाउने समुदायको श्रमसँग सम्बन्धित रहेको बताउनुभयो । माटाका कलश, दियो, हात्ती तथा अन्य सामग्री कुम्हाले समुदायले तयार गर्छन् भने बाँसको चोयाबाट बनाइने सुप, डाला, नाङ्लो, डगरा, सुपली, छैँटी र बेनालगायतका सामग्री डोम समुदायका हस्तकर्मीले तयार पार्छन् ।
त्यस्तै, किसानले उत्पादन गरेका केरा, उखु, अदुवा, नरिवल, फलफूल, गहुँ र चामललगायतका कृषिउपज छठका प्रमुख प्रसादका रूपमा प्रयोग हुन्छन् । गहुँको पिठोबाट बनाइने ठेकुवा, चामल र सक्खरबाट तयार पारिने खीर तथा अन्य परम्परागत परिकारले मिथिलाको मौलिक खानपान संस्कृतिलाई उजागर गर्छन् । पर्वका अवसरमा गाउँसहरका सडक किनारमा लाग्ने बजारले स्थानीय उत्पादन र हस्तकलालाई उपभोक्तासम्म पुर्‍याउने अवसर प्रदान गर्छ । यसले किसान, व्यापारी, कुमाले, बाँसका सामग्री निर्माता तथा साना व्यवसायीको आम्दानी बढाउन सहयोग पुर्‍याउँछ ।
प्रकृतिप्रति कृतज्ञता र संरक्षणको सन्देश
छठ पर्वको अर्को महत्त्वपूर्ण पक्ष प्रकृतिप्रतिको सम्मान र संरक्षण हो । सूर्य, जल, भूमि, वनस्पति तथा कृषि उत्पादनलाई महत्व दिइने यस पर्वले मानव जीवन प्रकृतिसँग अभिन्न रूपमा जोडिएको सन्देश दिन्छ । खुला आकाशमुनि नदी, पोखरी र जलाशयमा उभिएर सूर्यलाई अर्घ्य अर्पण गर्ने परम्पराले पानी र वातावरणको महत्वलाई स्मरण गराउँछ । सूर्यको प्रकाशबिना कृषि उत्पादन र मानव जीवन सम्भव नहुने भएकाले किसानले वर्षभरि मिहेनेत गरेर उत्पादन गरेका अन्न तथा फलफूल सूर्यदेवलाई अर्पण गरी प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्छन् । जनकपुरधामका गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रुक्मिणी सरोवर, अरगजा, महाराजसागर र अग्निकुण्डलगायतका ऐतिहासिक जलाशय छठ पर्वका बेला श्रद्धालुले भरिने गर्छन् ।
यस्ता जलाशयको सरसफाइ, संरक्षण र व्यवस्थापनमा स्थानीय समुदायको सहभागिता बढ्ने गरेको छ । छठले सफा जलाशय, स्वच्छ वातावरण र सामूहिक जिम्मेवारीको महत्व पनि उजागर गर्छ । अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर जीवनका कठिनाइप्रति धैर्य र उदाउँदो सूर्यलाई अर्घ्य दिएर नयाँ आशा तथा सम्भावनाको स्वागत गर्ने यस पर्वले मानव जीवनमा समानता, सहअस्तित्व र प्रकृतिप्रतिको कृतज्ञताको अनुपम सन्देश दिँदै आएको छ ।

प्रकाशित मिति: कार्तिक २९ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend