Hamro Koshi Aawaj

सोमबार, कार्तिक ३० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

रास्वपालाई उम्किने छुट छैन

अनुषा थापा
कार्तिक २८ २०८३, शनिबार
रास्वपालाई उम्किने छुट छैन

नेपालमा पहिलोपटक संविधान सभाको निर्वाचन २०६४ चैत २८ गते भयो । ६०१ सिटमध्ये २४० माओवादीले ल्यायो, प्रत्यक्ष र समानुपातिक गरेर । एमालेको समर्थनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भए । ९ महिनासम्म उनले जनअपेक्षाअनुसार काम गर्न सकेनन् । त्यसपछि उनले नेपाली सेनाका प्रधानसेनापति रुक्मानंद कटुवाल र पशुपतिनाथ मन्दिरका पुजारी हटाए ।
सो विषय व्यापक विवादमा तानियो । उनले प्रधानमन्त्री पदबाटै राजीनामा दिए । २०७४ मंसिर १० र २१ गते निर्वाचन भयो । माओवादी र एमाले मिलेर चुनावमा गयो । २७५ मध्ये १७४ एमाले र माओवादीले प्राप्त गर्यो । २०७४ फागुन ३ गते केपी शर्मा ओली प्रधानमन्त्री बने । प्रधानमन्त्री पदमा पुगेपनि ओली आफ्नै दुनियाँमा मस्तमगन रहे । देश र जनताको अभिभावकत्व बोकेको उनी प्रायः बासुरी बजाएर बस्थे ।
जनताले तिरेको करबाट उनी सांसदहरुका निम्ति तीजको दर कार्यक्रमको आयोजना गर्थें । काम नगर्ने उनी आफ्ना सांसदहरुलाई विपक्षीहरुलाई अरिंगालले जसरी आक्रमण गर्नु भनेर सिकाउँथे । ती हर्कतका कारण उनको चौतर्फी विरोध भयो । त्यसबीच उनले २०७७ पुष ५ गते संसद् विघटन गरे । अदालतले ब्यूँताइदियो । उनले फेरि २०७८ जेठ ८ गते फेरि संसद् विघटन गरिदिए ।
देशमा जेनजी विद्रोहपछि गत फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन भयो । राष्ट्रिय स्वतन्त्र पार्टी १८२ सिटसहित पहिलो पार्टी बन्दै सदनमा प्रतिनिधित्व गरिरहेको छ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह देशको प्रधानमन्त्री बनेका छन् । चैत १३ गते शपथ ग्रहण गरेका उनी प्रधानमन्त्री भएको आठ महिना पुरा भएर ९ महिना लाग्दैछ । झण्डै दुई तिहाईको शक्तिशाली सरकारबाट जनताका धेरै अपेक्षा थिए ।
तर, ती अपेक्षा चक्नाचुर बन्दै गएको छ । न सदनबाट रफ्तारमा विधेयकहरु पारित भयो न प्रधानमन्त्रीले नै काम गर्न सके । उल्टै सरकारका नियुक्तिहरु विवादमा परिरहेको छ । प्रायःजसो सार्वजनिक निकायमा नेपाली सेनाबाट रिटायर्डहरु नियुक्त भइरहेका छन् । न्यायालयमा चौंथो वरियताको न्यायाधीशलाई प्रधानन्यायाधीश नियुक्त गरियो । मुख्यसचिव नियुक्तिमा न वरियता हेरियो न अनुभव ।
अहिले सरकारले आईजीपीलाई हटाएको छ, त्योपनि बिना कारण । सरकारसँग किन हटाएको ? भन्ने स्पष्ट जवाफ छैन । भ्रष्टाचारको फाइल खोल्नमा सरकार नाकाम बनेको छ । रास्वपाको सरकार गठन भएको एक सय दिनमै भ्रष्टाचारीहरु जेलमा हुन्छन् भनेकोमा अहिलेसम्म कति जेल गए ? कति भ्रष्टाचारको फाइल खुलेर अनुसन्धान भए ? बालेन सरकारको काम गर्ने क्षमता जनताले आठ महिनामै देखिसकेका छन् ।
महँगीले जनताको ढाड सेकिएको छ । हरेक खाद्यान्न, तरकारीको भाउ बढेको भन्दै जनगुनासो बढ्दो छ । देशको प्रधानमन्त्री भने ‘चिल’ मा छन् । प्रमुख सल्लाहकार कुमार बेनको घरमा गएर नाच्नमै उनी व्यस्त छन् । प्रधानमन्त्रीको एक एक मिनेट महत्वपूर्ण छ । प्रधानमन्त्री बनेपछि हरेक एक मिनेट जनता र देशका निम्ति खर्चिनुपर्छ । जनता पीडा र महङ्गीको मारमा हुँदा प्रधानमन्त्री त्यसरी नाच्न सुहाउँछ ?
साहको नेतृत्वमा सरकार गठन भएपछि बेतिथि, मनोमानी, अराजकता झनै बढेको छ । सिण्डिकेटधारीहरु बलियो बन्दै गएका छन् । तर, सरकार हात बाँधेर बसेको छ । सर्वसाधारणले अहिले नै भन्न थालिसके–सरकार असफल भइसक्यो । जेनजी आन्दोलनमा सडकमा उत्रिएकाहरुले नै सरकारमाथि औंला ठड्याउन थालिसकेका छन् । बालेन्द्रभन्दा रवि लामिछाने प्रधानमन्त्री बन्दा ठीक होला भन्ने बजारमा व्यापक सुनिन थालेको छ ।
तर, उनीविरुद्ध नै ठाउँठाउँमा सहकारी ठगीको मुद्दा छ । यता, विपक्षीहरुले सरकारको विरुद्धमा कडा भएर प्रश्न उठाउन सकेका छैनन् । सरकार आफ्नै दुनियाँमा छ, विपक्षी आफ्नै दुनियाँमा । विपक्षीको काम सरकारलाई घच्घचाउने हो । यद्यपि, विपक्षीलाई नै कसले घच्घचाउने भन्ने अवस्था छ । चुनावअघि रास्वपाले सुशासनको कुरा गर्यो । रोजगारीको वाचा गर्यो ।
न देशमा सुशासन आयो न जनताले रोजगारी नै पाए । विदेश जानेको संख्या यो सरकार गठन भएपछि झनै वृद्धि भएको छ । विमानस्थलमा विदेश जानेहरुको लाइन छ । बालेन सरकारले देशको अर्थतन्त्र पनि सुधार्न सकेन । स्थानीय र प्रदेश सरकारको चुनाव ढोकैमा छ । सरकारको यस्तै पाराले स्थानीय र प्रदेशको चुनावमा रास्वपाको पत्तासाफ हुने पक्कापक्की छ ।
जनताले एकपटक पत्याउँछन्, पटकपटक होइन । यसको उदाहरण त विगतका सरकार नै हुन् । वर्षौं जनयुद्ध लडेर आएको पार्टीले काम गर्न नसक्दा अहिले के हविगत भयो ? त्यो रास्वपाकै सरकारले देखेको छ । त्यसैले आजको दिन गयो, भोलि गरौला भनेर नबसौं । समय कतिखेर जान्छ, थाहा हुँदैन । जनताले आफ्नो पार्टीको सदस्यता खल्तीमा हालेर रास्वपालाई भोट दिएका छन् ।
यसको कदर नगर्ने हो र खेलाँची गरिरहने हो भने रास्वपाको पुराना दलभन्दा नराम्रो हालत हुन्छ । १८ वर्षअघि २४० सिट ल्याएको माओवादी अहिले १७ सिटमा खुम्चिएको छ । २०७४ सालमा १७४ सिट ल्याएको एमाले आठ वर्षकै अवधिमा २५ सिटमा खुम्चिन पुगेको छ । त्यसैले १८२ सिट छ भनेर रास्वपाले घमण्ड नगर्दापनि हुन्छ । अहिले १८२ सिटमा जिताउने जनताले शून्यमा पनि झारिदिन सक्छन् ।
जनताले व्यक्ति र पार्टी हेर्दैनन्, काम हेर्छन् । रास्वपाले केही गर्ला भनेर जनताले पुराना दललाई नराम्ररी पराजित गरिदिए । पुराना दलकै अवस्थामा नफर्किने हो भने रास्वपाले भटाभट काम गर्नुपर्छ । प्रधानमन्त्री सामाजिक सञ्जालमा होइन, काममा ‘एक्टिभ’ देखिनुपर्छ । बालेन्द्र काठमाडौं महानगरपालिकाका मेयर थिए । जनताले मेयरलाई एकाएक देशको प्रधानमन्त्री बनाए । जनताको यो विश्वास सामान्य होइन ।
अहिलेजस्तो मत कसैले पाएका थिएनन् । यो कुरा प्रधानमन्त्री साहले ख्याल गरिरहन आवश्यक छ । हिजो ओली सामाजिक सञ्जाललाई करको दायरामा ल्याउन खोज्दा हेलिकप्टर चढेर भाग्नुपर्यो । त्यही अवस्था यो सरकारको नबनोस् । मन्त्रीहरु स्टण्टमै केन्द्रित छन् । जनताले चुनावअघि गरेको वाचा कहिले पुरा गर्ने ? भनि प्रश्न गर्दा मन्त्री मत फिर्ता लैजाऊँ भन्छन् । कुनै मन्त्री अरुमाथि दोष थुपारेर उम्किन खोज्छन् ।
यो सरकारले के बुझ्नुपर्छ भने यो सरकारलाई अरुमाथि हिलो छ्यापेर उम्किने छुट छैन । किन कि यो सरकारमाथि जनताले धेरै नै विश्वास गरेका छन् । आफू वर्षौंदेखि जोडिएको पार्टीलाई धोका दिएर रास्वपालाई भोट दिएका छन् । रास्वपाले भोट लिन एक सय दिनमा बन्द भएको उद्योग खोल्छौं, भ्रष्टाचारीलाई कारबाही गर्छौं, विदेशका गल्ली गल्लीमा नेपाललाई फिर्ता ल्याउन स्टिकर टाँस्छौं, देशमै रोजगारी दिन्छौं, सहकारीको पैसा फिर्ता गर्छौं, सुशासन ल्याउँछौं भन्यो ।
यी बाचा कहाँ हरायो ? अहिलेसम्म यीमध्ये कुनै पूरा भएको देखिँदैन । जनताको आँखामा यसरी पट्टी बाँधियो कि जनताले केही देख्दै देखेनन् । शेरबहादुर देउवालाई समात्न रेड कर्नर नोटिस् जारी गर्न खोजियो । अहिले देउवा यही छन्, समात्न के ले रोक्यो ? ‘बालेन र रविले देश बनाउँछ’ भन्नेहरूले पुर्परोमा हात राख्न त पर्दैन ?

प्रकाशित मिति: कार्तिक २८ २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend