धरानः धरानमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण ‘प्रथम महिला गोल्डकप फुटबल’ प्रतियोगिताअन्तर्गत भएको दोस्रो क्वाटरफाइनल खेलमा धरानको स्वर्णिम क्लबले फराकिलो र सहज जीत निकाल्दै सेमीफाइनलमा प्रवेश गरेको छ ।
रात्रीकालीन प्रतियोगिता धरान–१६ स्थित रंगशालामा भइरहेको छ । आयोजक डी १९ क्लब र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा आयोजक नै सेमीमा प्रवेश गरेको हो । गाइघाट फुटबल क्लब उदयपुरलाई ५–० गोलले पराजित गर्दै स्वर्णिम सेमीफाइनलमा पुगेको हो ।
स्वर्णिम क्लबकी सजिना साङताङले ह्याट्रिक गरिन् भने समीक्षा मगरले दुई गोल गरेकी छिन् । पहिलो हाफमा ३–० को अग्रता बनाएको घरेलु टोलीले दोस्रो हाफमा थप दुई गोल गर्दै ५–० को जीत निकालेको थियो । पहिलो हाफमा सजिनाले एक गोल गर्दा समीक्षा मगरले दुई गोल गरेकी थिइन् । दोस्रो हाफमा सजिनाले थप दुई गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गर्न सफल भइन् ।
आजको खेलमा हयाट्रिकसहित तीन गोल गरेकी सजिना प्लेयर अफ द म्याच घोषित भइन् । प्रतियोगिताअन्तर्गत भोलि हुने खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले बाग्मती युवा क्लबबीच हुनेछ । प्रतियोगिताको बिजेता टोलीले नगद पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल मंसिर ५ गते हुनेछ ।











































