धरान: धरान-१३ स्थित पब्लिक माध्यमिक विद्यालय फुस्रेको शैक्षिक तथा भौतिक विकासमा सहयोग जुटाउने उद्देश्यले सञ्चालन गरिएको देउसीभैलो कार्यक्रम आइतबार सम्पन्न भएको छ।
विद्यालयले कार्तिक २६ देखि २९ गतेसम्म धरानका वडा नं. १३, २० र ४ मा रहेका अभिभावकका घरघरमा पुगेर देउसीभैलो खेलेको थियो। कार्यक्रममा हालसम्म ५ लाख २० हजार ५९८ रुपैयाँ संकलन भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर कार्कीले जानकारी दिए।
संकलित रकम विद्यालयको शैक्षिक गुणस्तर सुधार, कृषि इन्जिनियरिङ विषय सञ्चालन, अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्नेलगायत आवश्यक आन्तरिक व्यवस्थापनमा खर्च गरिने अध्यक्ष कार्कीले बताए। सहयोग आउने क्रम अझै जारी रहेकाले केही दिनपछि समीक्षा बैठक गरी कुल संकलित रकम र कार्यक्रम सञ्चालनमा भएको खर्च सार्वजनिक गरिने उनले जानकारी दिए।
सरकारको सहयोगले मात्र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र भौतिक विकास सम्भव नहुने भन्दै अध्यक्ष कार्कीले विद्यालयको उन्नयनमा समुदायको महत्वपूर्ण भूमिका रहने बताए। उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।
यसैगरी, धरान–१३ का वडाध्यक्ष नेत्र काफ्लेले देउसीभैलो कार्यक्रमले विद्यालय र अभिभावकबीचको सम्बन्ध थप सुमधुर बनाउनुका साथै विद्यार्थीहरू कुन–कुन क्षेत्रबाट विद्यालय आउँछन् भन्ने जानकारी लिनसमेत सहयोग पुगेको बताए। संकलित रकम विद्यालयको शैक्षिक तथा भौतिक विकासमा खर्च हुने उल्लेख गर्दै उनले सबैको सहकार्यमा विद्यालयलाई नमुना बनाउन आग्रह गरे। सामुदायिक विद्यालयले पनि गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने भन्दै उनले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउन अभिभावकलाई आग्रह गरे।
केही महिनाअघि लडेर खुट्टामा गम्भीर चोट लागेपछि शल्यक्रिया गरी घरमै आराम गरिरहेका वडाध्यक्ष काफ्ले बैसाखीको सहारामा देउसी टोलीसँगै घरघर पुगेका थिए।
समापन कार्यक्रममा पूर्वएसएसपी भीम दाहाल, विद्यालयका निवर्तमान प्रधानाध्यापक पुरुषोत्तम निरौला, वर्तमान प्रधानाध्यापक नारद राई, भगवती आधारभूत विद्यालय धरान–१६ का पूर्वप्रधानाध्यापक अच्युत भट्टराई, धरान-२० का वडा सदस्य तथा विद्यालय व्यवस्थापन समिति सदस्य पञ्चमी राईलगायतको उपस्थिति थियो। कार्यक्रममा बिद्यालयका कर्मचारी प्रफुल्ल भण्डारी लगायत सहभागीहरूले देउसीभैलो गीतमा नाचगान गर्दै रमाइलोसमेत गरेका थिए।कार्यक्रमको संचालन शिक्षक गजेन्द्र दाहालले गरे।
सामुदायिक विद्यालयको विकास सरकारको मात्र होइन, समुदायको पनि साझा जिम्मेवारी हो भन्ने सकारात्मक सन्देश यस अभियानले दिएको छ।