धरानः ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर धरानमा वक्तृत्वकला प्रतियोगिता आयोजना भएको छ ।
महिला सञ्जाल धरानको आयोजना तथा धरान उपमहानगरपालिकाको सहयोगमा कार्यक्रम भएको हो । ‘नेपालमा महिलाको अवस्था र राज्यको व्यवस्था’ को विषयमा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा धरानका १० वटा सामुदायिक विद्यालयका कक्षा–१२ सम्मका १० जना छात्राहरूले भाग लिएको सञ्जालकी अध्यक्ष सविता राईले जानकारी दिइन् । प्रतियोगिताको विजेता घोषणा आउँदो ८ मार्च अर्थात फागुन २५ गते भानुचोकमा आयोजना हुने श्रमिक महिला दिवसको समारोहमा गरिने उनले बताइन् ।
प्रतियोगिताको विजेता प्रथम, दोस्रो, तेस्रो र चौथोले क्रमसः नगद ५ हजार, ३ हजार, १ हजार ५ सय र १ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । कार्यक्रमको प्रमुख अतिथि धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी सुवेदी थिइन् । किशोरीहरुमा बोल्न सक्ने क्षमताको विकास गराउँदै उनीहरुको प्रतिभालाई प्रष्फुटन गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको सञ्जालकी अध्यक्ष राईले बताइन् । सञ्जालकी सदस्य शकुन्तला भुषाल संयोजक रहेको कार्यक्रममा वडा नं १३ की महिला सदस्य पदमा राई, धरान १८ की वडा सदस्य जमुना त्रिखत्री, सञ्जालकी निवर्तमान अध्यक्ष शिला बज्रचार्यले पनि मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रमको सञ्चालन सञ्जालकी सचिव कोपिला भट्टराईले गरेकी थिइन् । 