Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बन्धक बनाइएका युवालाई पैसा तिरेर उद्धार गरी धरान ल्याइयो, अबको उपचारले मात्रै युवाको आवाज फर्किने (भिडियोसहित)

हाम्रो कोशी आवाज
फाल्गुन २० २०७६, मंगलबार
उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बन्धक बनाइएका युवालाई पैसा तिरेर उद्धार गरी धरान ल्याइयो, अबको उपचारले मात्रै युवाको आवाज फर्किने (भिडियोसहित)

धरानः उपचार गराएको पैसा तिर्न नसक्दा विराटनगरको विराट नर्सिङ होममा बन्धक बनाइएका युवाको साढे ८ महिनापछि सोमबार उद्धार गरेर धरान ल्याइएको छ ।
संखुवासभाको खाँदबारी नगरपालिका १० चन्दनपुरका २० वर्षीय जीवन भुजेललाई प्रदेश १ की सांसद पदमकुमारी गुरुङको पहलमा र धरान–संखुवासभा सरोकार समाजको अगुवाइमा उद्धार गर्दै अस्पतालबाट निकालेर धरान ल्याइएको हो । धरान–संखुवासभा सरोकार समाजले २४ हजार बढी, अभियन्ता काठमाडौं रविन ढकाल २ लाख, सविना थापा खाँदबारी–९ (हाल अष्ट्रेलिया), हङकङबाट धर्म राईको नेतृत्वमा २ लाख ९३ हजार, खाँदबारी नपाका मेयर मुरारी खतिवडा र संघीय सांसद राजेन्द्र गौतमको पहलमा गृहमन्त्रालयबाट ५ लाख, खाँदबारी नपाबाट एक लाख सहयोग पाएपछि उनको उद्दार गरिएको समाजका अध्यक्ष मिङ्मा भोटेले जानकारी दिए । उनले अस्पतालसँग समन्वय गरेर ५ लाख, औषधि पसललाई ९० हजार, २३ हजार लगायत गरी करिब ७ लाख रूपैयाँको रकम भुक्तानी गरेर उनको उद्दार गरिएको सोमबार धरानमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
अध्यक्ष भोटेका अनुसार दोस्रो चरणको अप्रेसन कुनैपनि अस्पतालमा नहुने र त्यो अप्रेसन काठमाडौंको टिचिङमा मात्रै हुनेछ । चिकित्सकका अनुसार दोस्रो चरणको उपचार टिचिङमा मात्रै हुने र सो उपचारपछि मात्रै ती युवाको आवाज फर्किनेछ ।
जीवनलाई सहयोग गर्नका लागि विभिन्न संघ संस्था र व्यक्ति सक्रिय भएर लागेका थिए । सरोकार समाजका प्रतिनिधि सोमबार उनलाई उद्दार गर्न विराट नर्सिङ होम पुगेका थिए । दुई लाख ९७ हजार अस्पतालले छुट दिएको छ । उपचार वापतको खर्च तिरिएपछि अस्पतालले पनि युवालाई सोमबार डिस्चार्ज दिएको छ ।
आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका युवाले उपचार खर्च तिर्न नसक्दा लामो समयदेखि अस्पतालमै बन्धक बनेर बस्नुपरेको बताउँदै भोटेले उद्धार गरेर थप उपचारका लागि काठमाडौंको टिचिङ अस्पताल लग्ने तयारी गरिएको जानकारी दिए । समाजका सचिव इन्दु योञ्जनले उनलाई अबको अप्रेसनका लागि सबैलाई सहयोगको आग्रह गरे । ‘जे जति रकम बँचेको छ, त्यसले हामी उपचार गरिहाल्छौं तर रकम नपुग्ने नै देखिन्छ, त्यसैले सबैलाई सहयोगको आग्रह पनि गर्दछौं ।
जीवनमाथि भोजपुरको षडानन्द नगरपालिका १ मझुवावेंसीमा गत असार ५ गते आक्रमण भएको थियो । मझुवावेंसीमा खेलमैदान बनाउने जिम्मा लिएका बुवा गणेशसँगै गएका उनलाई सामान्य विवादमा त्यहाँ निर्माणाधिन इर्खुवा हाइड्रोपावरका कामदारले रडले आक्रमण गरेर गम्भीर घाइते बनाएका थिए ।
प्रहरीका अनुसार घटनामा जीवनको गल्ती देखिएन । आक्रमण गर्नेहरु प्रहरीले चलाएको अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन भोजपुरले मागेको जनही पाँच हजार रुपैयाँ धरौटी बुझाएर असार ३० गते छुटिसकेका छन् । आक्रमणपछि उनलाई बुवा गणेशले उपचारका लागि धरान हुँदै असार ६ गते विराटनगर ल्याएका थिए । उपचार वापत लागेको पैसा खोज्नका लागि भन्दै त्यसको तीन महिनापछि छोरालाई अस्पतालमै छाडेर घर गएका गणेश भने अहिलेसम्म अस्पताल फर्किएनन् । अरु आफन्त पनि सम्पर्कमा आएनन् । गाउँमा ऋण नपाएका कारण छोराको उपचार खर्च तिर्न सक्ने अवस्था नभएपछि बुवा अस्पताल फर्कन नसकेको स्थानीयबासीले बताएका छन् ।
अस्पतालमा उनलाई साढे ८ महिनासम्म अस्पतालको पाँचौ तलाको सर्जिकल वार्डमा सुरक्षा गार्डको निगरानीमा राखियो । अस्पतालकै कर्मचारीले कर्मचारीले क्यान्टिनबाट खानेकुरा लगिदिने र हेरचाह गर्ने गर्थे ।
उनी परिवारका माइला छोरा हुन् । आमा बितेपछि परिवारमा बुवा, एक दाजु, दिदी र दुई भाइ थिए । आमा सीतुको मृत्यु भएको भदौ १४ मा आमाको वर्ष दिनको काम भयो । उपचार खर्च तिर्न नसकेर भाइ अस्पतालमै बन्धक भएको भन्दै ऋण खोज्नका लागि चारैतिर भौतारिरहेका दाजु नवीनले पनि त्यही तनावका कारण गत कात्तिक अन्तिम साता आत्महत्या गरेको स्थानीयको भनाइ छ । तर दाजुको अन्तिम संस्कार र आमाको वर्ष दिनको काममा पनि जीवन घर पुग्न पाएनन् । घाँटीमा प्वाल पारेर पाइप राखिएकाले उनको बोली आउँदैन ।
अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. राजीवकुमार साहले घाँटीमा रड प्रहार भएका कारण जीवनको घाँटीमा पाइप राख्नुपरेको बताए । उनले उनले घाँटीको शल्यक्रिया गरेर पाइप निकालेपछि बोली आफै खुल्ने बताएका छन् । अस्पतालका प्रशासन प्रमुख पदन विनारीले आफन्त र परिवारका कोही पनि सम्पर्कमा नआउँदा यति लामो समयसम्म जीवनलाई जिम्मा लगाउन नसकिएको बताएका छन् ।

पत्रकार सम्मेलनमा समाजका पदाधिकारी ।

प्रकाशित मिति: फाल्गुन २० २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend