धरानः ब्लिङ्क इभेन्ट म्यानेजमेन्ट प्रालिले अनाथ असहाय तथा वृद्धवृद्धाहरुको सहयोगार्थ आयोजना गरेको तेस्रो यले साँझबाट संकलित रकमले विभिन्न क्षेत्रमा सहयोग प्रदान गरेको छ ।
सोमबार धरान–१२ मा रहेको पुनस्थापना केन्द्रमा पुगी बिहानको खाना र २५ हजार बराबरको खाद्यान्न सामग्री प्रदान गरीएको थियो । खाद्यान्न र खानाको जम्मा ३० हजार नगद हुन आउँछ । सो सामग्री पुनस्थापना केन्द्रका सञ्चालक भिम राईलाई प्रदान गरीएको थियो । अहिले उक्त पुनर्स्थापना केन्द्रमा २७ जना अशक्त, असहायहरुले आश्रय लिइरहेका छन् ।
यसैगरी मंगलबार धनकुटाको मूलघाटमा रहेको विश्रान्ती वृद्धाआश्रममा बिहानीको खाना खुवाइनुका साथै २० हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री प्रदान गरीएको छ । यो सँगै आश्रममा रहेका आश्रितहरूलाई जनही १ सय रूपैयाँ बाँडिएको थियो । खाना, खाद्यान्न र नगद गरी ३० हजार बराबरको सहयोग गरिएको हो ।
अहिले विश्रान्ती वृद्धाआश्रममा ४३ जना वृद्धवृद्धाहरुले आश्रय लिएर बसेका छन् । यसका साथै अन्य सहयोगीहरु समेत गरी वृद्धाआश्रममा जम्मा ५३ जना रहेको आश्रमका सहजकर्ता पदमप्रसाद काफ्लेले जानकारी दिएका छन् । वृद्धाआश्रममा ६० वर्ष उमेर समूहदेखि १०५ वर्षसम्मका वृद्धवृद्धाहरु रहेका छन् ।
विश्रान्ति वृद्धाआश्रमबाट धरान आएर प्यारालाइसिस भएर थलिएका धरान १५ निवासी मजदुर पुण्य प्याकुरेललाई समेत सहयोग प्रदान गरीएको छ । प्याकुरेलको घरमै पुगेर ५ हजार मूल्य बराबरको खाद्यान्न सामग्री प्रदान गर्नको साथै १ हजार १ सय ५ रुपैयाँ सहयोग रकम समेत प्रदान गरिएको थियो । प्याकुरेल २०७२ सालमा सवारी दुर्घटनामा परी कम्मर तलबाट प्यारालाइसिस भई थला परेका छन् । प्याकुरेलको परीवारमा हाल श्रीमती, १ छोरा र १ छोरी रहेका छन् ।
ब्लिङ्क इभेन्टका अध्यक्ष अमित दुमी राई, आयोजक टिमका सदस्य निशान श्रेष्ठ, सुमिन आर्चाजु, सुमन राई लगायतले उक्त सहयोग हस्तान्तरण गरेका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय अध्यक्ष भिम ज्वाला राई, युवा नेता अशोक राई र दिपक बनेपाली, अग्रज पत्रकार जनकऋषि चाम्लिङ, संगठनका नगर अध्यक्ष कमल भट्टराई, धरान खेलकुद विकास समितीका सदस्य विकास चाम्लिङ, दुमिफन सिक्खिमका अध्यक्ष कृपा राई लगायतको उपस्थिति रहेको थियो ।
गत माघ ५ गते सम्पन्न तेस्रो यले साँझबाट संकलन भएको रकमबाट उक्त सहयोग प्रदान गरीएको हो । यले साँझको पहिलो वर्षमा संकलन भएको रकमले ब्लड क्याक्सर पिडित नइशा शाक्यलाई ५५ हजार सहयोग गरेको ब्लिङ्का अध्यक्ष अमित दुमी राईले स्मरण गरे । यस्तै दोश्रो वर्षको कार्यक्रमबाट संकलित रकम भने एचआइभी संक्रमित तथा प्रभावित बालबालिकाको शिक्षाको लागि ८० हजार र क्यान्सर पीडित बालिका सृजना लिम्बूको लागि २५ हजास गरी १ लाख ५ हजार सहयोग गरिएको उनले बताए ।
